१५ बैशाख २०८१, शनिबार

बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय

cabinet

मन्त्रिपरिषद्को आजको बैठकले नेपालमा लोकतन्त्रको स्थापनाका लागि आजीवन र अनवरत संघर्ष गर्नुभएका बिपी कोइरालाको नाममा बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको मन्त्रिपरिषद्को बैठकले कोरोनाको कारण प्रभावित भएको राष्ट्रिय जनगणनाको संशोधित जनगणना कार्यक्रम समेत स्वीकृत गरेको छ ।

बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको विद्यालय क्षेत्र सुधार कार्यक्रम सञ्चालनका लागि प्राप्त हुने सहुलियतपूर्ण ऋण ५ अर्ब ५४ करोड लिन स्वीकृति दिने निर्णय पनि गरेको छ ।

त्यसै गरी बैठकले नेपाल स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने ५ अर्ब ९४ करोड रुपैयाँ बरावरको अतिरिक्त सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय पनि भएको नेपाल सरकारका प्रवक्ता कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले जलवायु परिवर्तनसम्बन्धी अनुकूलन कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा सदस्यको रुपमा नेपाल सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले आर्थिक बर्ष २०७८।७९ का लागि विभिन्न आयोजनाहरूका लागि स्थायी र अस्थायी दरबन्दी सृजना गर्ने, निजामती सेवा दिवसको अवसरमा ४० जना निजामती कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो ।

बजेटका सम्बन्धमा पत्रकारहरूको एक प्रश्नमा प्रवक्ता कार्कीले आफूले केही दिन अघि विपक्षी दलका नेता केपी ओलीसँग नियम निलम्बन गरेर बजेट पास गर्ने सम्बन्धमा कुरा गरेको तर उहाँले नियम निलम्बन गर्न नमानेकोले भदौ २३ गतेबाट संसद् चलेपछि वार्ताद्वारा बजेटसम्बन्धी विषयलाई टुङ्गोमा पुर्‍याउने बताउनुभयो ।