१५ चैत्र २०८०, बिहीबार

हेलम्बु र मनाङको सडक दशैँअघि सुचारु गर्न मुश्किल

manang bridge

बाढीपहिरोले क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र मनाङको चामे जोड्ने सडक दशैं अघि सुचारु नहुने भएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण मर्मतसम्भारमा बाधा पुगेपछि दशैँअघि सडक सञ्जाल जोड्न नसक्ने स्थानीय अधिकारीहरूले जनाएको छ ।

चामेसम्म पुग्ने मुख्य सडक निर्माणका लागि ठेक्का लगाइ सकिए पनि दशैअघि बन्न सक्ने अवस्था नभएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । छिटो काम सक्न निर्माण कम्पनीलाई ताकेता गर्देआएका छौ, कात्तिक शुरुदेखि सडक सुचारु हुने उहाँले बताउनुभयो । मनाङसम्म पुग्ने सडक र नौ वटा पुल यसपालीको वर्षाका कारण आएको बाढीले बगाएको थियो । प्रजिअ लामिछानेका अनुसार नौ वटामध्ये छ वटा पुलको अस्थायी रुपमा काठको निर्माण गरी आवतजावत सुचारु भएको छ । लामो समयपछि मनाङमा यस वर्ष बाढी आएको थियो ।

यता सिन्धुपाल्चोकको मुख्य क्षतिग्रस्त मेलम्ची र हेलम्बु क्षेत्रमा पनि सडक निर्माणका लागि काम शुरु गर्न नसकिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताउनुभयो । प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरी काम अघि बढाए पनि लगातारको वर्षासँगैको बाढीका कारण मर्मतसम्भारका काम गर्न नसकिएको उहाँले बताउनुभयो । हेलम्बुसम्म पुग्न मुख्यगरी चनौटेको पुल नहुँदा समस्या भएकाले तत्काल अस्थायी पुल जडान गर्न तनहुँबाट बेलीव्रिज ल्याउन नेपाली सेनालाई जिम्मा दिएको छ ।

पानी नरहने र बाढीको मात्रा नघटेसम्म बाटो अवरोध कायमै रहने भएकाले प्रशासनले सम्बन्धित स्थानीयतह, मेलम्ची खानेपानी विकास समिति, सडक विभाग लगायतलाई दशैँमा तत्काल सडक मर्मत गरी सुचारु गर्न अनुरोध गरेको खनालले बताउनुभयो । तर दशैअघि त्यस क्षेत्रमा सडक पुग्ने सम्भावना नभएको प्रशासनले जनाएको छ । हाल दुई महिनादेखि हेलम्बु क्षेत्रमा आवातजावत ठप्प भएपछि औषधी तथा खाद्यान्न ढुवानीसमेत हेलिकप्टरबाट गर्दैआएको छ ।