१३ बैशाख २०८१, बिहीबार

पहिरोका कारण हेलम्बु र अरनिको राजमार्ग अवरुद्ध

612871f10a17c sadak

निरन्तर वर्षाले पहिरो खस्दा हेलम्बु राजमार्ग दुई दिनदेखि अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले मेलम्ची नगरपालिका १३ फटकशिलाको रातोपहरो भन्ने पहाडबाट पहिरो खसिरहेकोले सडक बन्द भएको जानकारी दिनुभयो ।

अहिले उक्त क्षेत्रमा भीषण वर्षा भइरहेको छ । रातोपहरोबाट पहिरो झरेको झरै छ इन्स्पेक्टर राईले भन्नु भयो – ‘पहिरो झरिरहे ठुलो खतरा निम्त्याउला भन्ने स्थानीयमा त्रास उत्पन्न भएको छ’ ।

पहिरोले अहिले मेलम्चीबाट राजधानी र राजधानीबाट मेलम्ची, अन्य स्थानमा आवतजावत गर्ने सवारी साधन पूर्ण रुपमा रोकिएका छन् । निरन्तर वर्षाले पहिरो पन्छाउन सक्ने अवस्था छैन प्रहरी निरीक्षक राईले बताउनुभयो ।
धुसिने मानेभञ्ज्याङ तालामाराङ सडक पनि पहिरोले अवरुद्ध भएको छ ।

यता अरनिको राजमार्ग अन्त्रगतको जुरे पहिरो क्षेत्रको सडक सामान्य वर्षाले पनि बन्द हुँदै आएको छ । बाह्रबिसे नजिक रहेको महभीरमा सुनकोशी नदीले राजमार्ग तानेका कारण सडक पाँच मिटर भासिएर सवारीसाधन अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहले जानकारी दिनु भयो ।

सडक डिभिजन कार्यालयले अवरुद्ध सडक खुलाउन केही प्रयास नगरेको स्थानीय बिदुरीप्रसाद पराजुलीले आरोप लगाउनु भयो । अहिले सिन्धुपाल्चोकमा तीन दिन अघिबाट निरन्तर वर्षा भइरहेको छ । ग्रामीण सडकहरु असार सुरुवात भएसँगै बन्द भएका थिए ।

हेलम्बु राजमार्ग र अरनिको राजमार्ग अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान सकिएको छैन । सवारीसाधन संचालन हुन नसक्दा राजधानीमा महत्त्वपूर्ण काम पूरा गर्न जान नपाइएको यात्रु श्याम दुलालले पीडा व्यक्त गर्नुभयो ।