७ बैशाख २०८१, शुक्रबार

अपडेट संखुवासभा हत्याकाण्ड: घटनामा धारिलो हतियार प्रयोग, विज्ञ अनुसन्धान टोली पुग्यो

61363d69b0c74 7

संखुवासभामा एकै परिवारका छ जनाको हत्या प्रकरण घरदेखि सय मिटर परसम्म शव रहेको र धारीलो हतियार, छुरा प्रयोग गरि हत्या गरिएकोले घटना शंकास्पद रहेको स्थानीय र प्रहरीले बताएका छन् ।

घटनाको प्रकृति हेर्दा जिल्लाको प्रहरीबाट मात्र अनुसन्धानले पूर्णता पाउने नदेखिएपछि संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट आठ जनाको विज्ञ टोली सहित तालित प्राप्त कुकुर ल्याइएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिनु भयो ।

धरानबाट आएको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको विशेषज्ञसहितको टोलीले घटना स्थलमा पुगेर साँझबाट अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न हुन सक्ने अपराधी फरार हुन नदिन सङ्खुवासभाका सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दाहालले बताउनुभयो ।

संखुवासभा जिल्लाको मादी नगरपालिका १ उम्लिङ स्थित खोला गाउँमा गए राती एकै परिवारका ६ जनाको हत्या भएको थियो । बौदमान कार्कीको परिवारका ६ जनाको हत्या भएको हो । घटना अत्यन्तै रहस्यपूर्ण रहेको भन्दै प्रहरीले जघन्य किसिमका अपराधको सुक्ष्म अनुसन्धानमा परिचालन हुने विशेषज्ञसहितको टोलीले घटनास्थल पुगेर अनुसन्धान प्रारम्भ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बौदमान कार्कीको ८४ वर्षिय श्रीमती पार्वता कार्की घरमा मृत अवस्थामा भेटिएको थियो । त्यस्तै ५२ वर्षिय छोरा तेज बहादुर कार्की घर छेउको रोडको भित्तामा, ५२ वर्षिय बुहारी कमला कार्की र नातिनी बुहारी ३२ वर्षिय रञ्जना कार्की घर छेउको खोल्सामा, नाती ११ वर्षिय दिपेन कार्की घर भन्दा अलिक पर खर बारीमा र ७ वर्षिय नातीनी गोमा कार्की बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

madi 1630915700

घरमा रहेका सात जनामध्ये बौद्धमान मात्र सकुशल रहेका छन् । कान नसुन्ने र बोली प्रष्ट नभएका बौद्धमानलाई बिहान उठेपछि मात्र घटना थाहा भएको प्रहरीको भनाइ छ ।

कार्की परिवारका दुई जना वैदेशिक रोजगारीमा छन् । जेठो छोरो रमेश मलेसियामा र कान्छा छोरा नरेश दुवईमा छन् । नरेशकी श्रीमती झापाको दमकमा बस्दै आएका छन् । विदेशमा रहेका रमेशको श्रीमती अन्जना, छोरा दिपेन र छोरी गोमा सहित बुबा, आमा र हजुरआमाको हत्या भएको हो ।

हत्या भएकाहरुको विभिन्न स्थानमा शव भेटिएपछी घटना झनै रहस्यमयी भएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । मृतक तेज बहादुरको घर नजिकै रोडको भित्तामा, आमा पार्वताको घरैमा, श्रीमती मनमाया र बुहारी रञ्जनाको घर नजिकैको खोल्सामा, नाती दिपेन र नातीनी गोमाको घर माथि खरबारीमा शव भेटिएको थियो ।