१३ बैशाख २०८१, बिहीबार

राष्ट्रिय फूटबल टोलीको २३ वर्षमुनिको प्रशिक्षकमा महर्जन नियुक्त

balgopal

२३ वर्षमुनिको राष्ट्रिय फूटबल टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन् ।

अखिल नेपाल फूटबल संघ (एन्फा)ले आज महर्जनलाई २३ वर्ष मुनिको टोली हेर्ने गरी जिम्मेवारी दिएको जनाएको छ । सिनियर टोलीका समेत प्रशिक्षण सम्हालिसकेका महर्जनले आसन्न २३ वर्ष मुनिको एएफसी एसिया कप छनोटका लागि टोलीको प्रशिक्षण सम्हाल्नेछन् ।

तर एएफसीले राष्ट्रिय टोलीको प्रशिक्षकलाई प्रो लाइसेन्स अनिवार्य गरेपछि उनको स्थानमा हालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आएका थिए ।

सफल खेलाडी महर्जनले प्रशिक्षकका रुपमा बंगबन्धु गोल्डकप, १३ औं साग र गत चैतमा काठमाडौंमा भएको थ्री नेशन्स कप जिताएका छन् । त्यस्तै, व्यवसायिक प्रशिक्षकका रुपमा उनले नेपाल सुपर लीग एनएसएलमा काठमाडौं रेजर्सलाई उपाधि दिलाएका थिए ।

एन्फाले पूर्व खेलाडी रोजित केसीलाई सहायक प्रशिक्षक, ललित चन्दलाई गोलकिपर प्रशिक्षकको जिम्मेवारी दिएको छ । एएफसी एसिया कप छनोटमा नेपाल समूह बीमा छ ।

यसैबीच राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी कतार गएका छन् । साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा गर्ने र त्यहाँ मैत्रीपूर्ण खेल पनि खेल्ने योजना बनाएका कारण त्यसकै तयारीका लागि उनी आज त्यसतर्फ गएका हुन् ।

    सम्बन्धित समाचार...