७ बैशाख २०८१, शुक्रबार

उपेन्द्र यादवको आरोपः दल होइन लोसपा, ओलीको मतियार हो

swagart 750x375 1
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरको नेतृत्वमा गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी राजनीतिक दल नभई केपी शर्मा ओलीको मतियार रहेको आरोप लगाएका छन् ।

प्रदेश २ को जसपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष यादवले लोसपा दल नभएका कारण यसबाट देश र जनताको भलो नहुने पनि बताए ।

महन्थ ठाकुर नेतृत्वको लोसपा कदापि राजनीतिक शक्ति बन्न नसक्ने अध्यक्ष यादवले दाबी गरे । लोसपाले मधेसमा लोभ, लालच र भ्रमको खेती गरिरहेको आरोप लगाउँदै उनले भने, ‘जुन दिन महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका केही नेताहरु केपी शर्मा ओलीको पछि लागे, त्यस दिन नै उनीहरूको पतन भइसक्यो ।’

उनले नेपालको राजनीतिमा महत्वपूर्ण ठाउँ ओगटेको जसपालाई बेवास्ता गरेर कोही अगाडी बढ्न नसक्ने जिकिर पनि गरे । उनले भने, ‘अब देशको राजनीतिक दिशानिर्देश जसपाले गर्ने छ ।’ हरेक ठाउँमा जसपासँग साझेदारी गरेरमात्र कुनै पनि राजनीतिक शक्ति अगाडि बढ्न सक्ने गरी आफ्नो पार्टी स्थापित भएको उनले बताए ।

लोसपाका पक्षमा आफ्ना केही प्रदेशसभा सदस्यहरूले सनाखत गर्न थालेपछि प्रदेश सांसदहरूको परीक्षण गर्न जसपाले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा संगठन सुदृढीकरण, प्रदेश २ सरकारको समीक्षा एवं जनजागरण अभियान लगायतका विषयमा छलफल हुनका साथै सांसदहरुको गुनासोलाई पनि सुन्ने पहल भएको थियो ।