१४ बैशाख २०८१, शुक्रबार

हेर्नुहोस् कांग्रेस सभापतिमा को को छन् सम्भावित उम्मेदवार

Nepali Congress CC Meeting 2 1024x598 1
फाइल फोटो

नेपाली कांग्रेसको महाधिवेशन शुरु भएको छ । शुक्रबारबाट वडा अधिवेशन शुरु भइसकेको भएपनि अहिलेसम्म संस्थापन र इतर समुहबाट नेतृत्वको उम्मेदवारी टुंगो लागिसकेको छैन ।

संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा फेरी सभापतिको उम्मेदवार बन्ने तयारी गरेको जनाइएको छ । भने संस्थापन इतर समुहले नेतृत्वको दाबी गर्नेहरु धेरै छन तरपनि एकल र साझा उम्मेदवारी दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

वर्तमान उपसभापति विमलेन्द्र नीधिले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनले त्यसका लागि सम्पर्क कार्यालयको समेत स्थापना गरेका छन् ।

त्यसबाहेक युवा नेता कल्याण् गुरुङले समेत आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने घोषणा गरेका छन् । त्यसबाहेक नेता गगन थापाले महामन्त्रीको उम्मेदवार हुने घोषणा गरेका छन् ।

तर संस्थापन पक्षले अहिलेसम्म सभापतिको उम्मेदवार को हुने सार्वजनिक गरेको छैन । वर्तमान सभापति शेरबहादुर देउवा नै आगामी महाधिवेशनमा समेत सभापतिको उम्मेदवार हुने निश्चितजस्तै भएको उनीपक्षका नेताहरुको भनाई छ ।

त्यसबाहेक संस्थापनइतरको समुहले समेत महाधिवेशनको प्रक्रिया शुरु भइसक्दा समेत नेतृत्वको नाम टुंगो लगाउन सकेको छैन । तर वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले भने आगामी महाधिवेशनमा आफ्नो समुहबाट साझा उम्मेदवारी दिने प्रतिवद्धता भने जनाएको छ ।

संस्थापनइतर समुहमा रहेका नेताहरु प्रकाशमान सिंह, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला, नेता डाक्टर शेखर कोइराला लगाएतका नेताहरुले सभापतिमा उम्मेदवारी दिने बताइरहेका छन् ।

तर सभापतिका सबै आकांक्षीहरुले बिहिबार सामुहिक रुपमा पत्रकार सम्मेलन गर्दै सामूहिक र एकल साझा उम्मेदवार अघि सार्ने प्रतिवद्धता भने बिहिबार व्यक्त गरेका छन् ।

कांग्रेसका युवा नेताहरुले समेत आफ्नो समुहबाट नेतृत्वको दाबी गर्ने बताउँदै आएका छन् । महामन्त्रीको उम्मेदवारी घोषणा गरेका नेता गगन थापाले असोज १० गतेसम्म सहमतिको उम्मेदवारी घोषणा नभए आफ्नो समुह वेग्लै रुपमा अघि बढ्ने दाबी गरेका छन् ।

अहिलेसम्म कांग्रेसभित्र सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुह रहेको भएपनी आगामी महाधिवेशनसम्म पुग्दा भने थप अरु समुह समेत अस्तित्वमा आउने देखिएको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डाक्टर शशांक कोइराला र नेता शेखर कोइरालासँगै युवा नेताहरुको समुह समेत वेग्लै हुने संकेत देखिएको छ ।