४ बैशाख २०८१, मंगलवार

ओलीको अभिव्यक्तिले संघीयतामाथि नै खतरा महसुस भएको छ : निधि

Bimalendra Nidhi

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको उल्लेख गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको बताएका हुन् ।

उनले संविधानले ग्रहण गरेको अवलम्बन र व्यवस्था गरेको प्रणालीले कार्यपालिकाभन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने तर्क गरे । उनले ओलीको भनाइले संघीयता नै खतरामा रहेको आशंका उब्जिएको बताए ।

‘हामी झस्केका छौँ । जनता झस्केका छन् । प्रतिनिधिसभाको विघटन प्रतिगमन होइन भन्नुभएको छ । बाहिरको र नेपालको संसदीय प्रणालीमा केही न केही फरक छ । उहाँले यस्तो भन्नुमा संघीयतामाथि नै खतरा आइरहेको छ भन्ने महसुस भएको छ,’ उनले भने, ‘हामीले त्यो सबै कुरालाई ध्यानमा राखेर विश्वासको मत दिएका छौँ । विपक्षीले विश्वासको मत दिँदा खुशी मनाउनुपर्ने ठाउँमा चिन्ता हुन्छ भने के महत्व ? प्रतिस्पर्धालाई प्रतिशोधको भावनाले हेर्नु हुँदैन ।’

साथै सभामुखमा ईश्वरीदेवी न्यौपाने सबैभन्दा योग्य पात्र भएको उल्लेख गर्दै सांसद निधीले सभामुखकी उम्मेदवार न्यौपाने योग्य, अनुभवी, क्षमतावान, कल्पनाशील, दूरदर्शी व्यक्तित्व रहेको बताए ।

सांसद निधिले जनताले देशमा राजनीतिक स्थिरता चाहेको र संसदले पूर्ण आयु काम गर्न पाउनु पर्ने बताए ।