१३ बैशाख २०८१, बिहीबार

चेक दिएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

चेक दिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा झापाबाट एक व्यक्ति पक्राउ 768x387 1

झापा ।  खातामा रकम नभएको चेक दिएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा झापाबाट एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका–९ साबिक जितपुर गाविस–४ घर भई हाल बिर्तामोड नगरपालिका–५ मंगलदीप बस्ने वर्ष ४३ का टङ्कनाथ कट्टेल रहेका छन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी सिभिल बैङ्कको चेक दिएर बैङ्किङ कसुरजन्य अपराध गरेको प्रहरीले जनाएको छ ।

सो मुद्दामा उच्च अदालत पाटनले उनीमाथि मिति २०७७ माघ ४ गतेको फैसलाले बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र रु ६० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बिर्तामोडबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।