८ बैशाख २०८१, शनिबार

उपाध्यक्ष बामदेव गौतमद्वारा नेकपा एमाले परित्याग

bamdev gautam
फाइल फोटो

नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्र उपाध्यक्ष गौतमले आज पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दर्ता गराउनु भएको छ ।

राजीनामापत्रमा उहाँले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभाको निर्वाचन २०७४ मा एमाले र नेकपा(माओवादी केन्द्र)को साझा घोषणापत्रलाई कार्यान्वयन नगरेको तथा सरकारको कामलाई पटकपटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि सुधार गर्न नसकेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, “म आफैँ सङ्लग्न भएर निर्माण भएको नेकपा(एमाले)मा तपाइँकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिबाट पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।”

राजीनामापत्रमा जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नभएको, कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यताका विपरित जनताको अत्याधिक बहुमतलाई लत्याउँदै २०७५ पुस ५ र २०७८ जेठ ७ गते दुई दुई पटक संविधान विपरित जनताद्वारा निर्वाचित सदन भङ्ग गरिएको उल्लेख छ ।

अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, विधान तथा पार्टीको सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी पालना नभएको आरोप लगाउँदै नेता गौतमले पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि आफूले लिखित सुझाव दिएको बताउनुभएको छ ।

“आफना समकक्षी कमरेडलाई एकपछि अर्को गरी अपमान गर्ने, कारवाही गर्ने र पार्टीबाट निष्काशनजस्ता स्वेच्छाचारी तथा निरङ्कुश प्रवृत्ति र शैली अँगाल्नुभयो, त्यतिमात्र होइन राष्ट्रपतिसमेतलाई आफना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णय कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो”, राजीनामा पत्रमा उल्लेख छ ।