१३ बैशाख २०८१, बिहीबार

पार्टी विभाजनको औचित्य पुष्टि गरेर देखाउन नेपाललाई एमाले नेता नेम्बाङको चुनौति

subash chandra nembang
फाइल फोटो

नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले पार्टी विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौति दिनु भएको छ ।

संविधानसभाका अध्यक्षसमेत रहनु भएका उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पार्नु भयो ।

विनाविचारधारा, दर्शन र कार्यक्रमविना पार्टी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उहाँले त्यसविपरीत गएर माधव नेपालहरुले पार्टी फुटाएको आरोपसमेत लगाउनु भयो ।

पार्टी निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनले आज ललितपुरमा गरेको कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले कुन विचारधारा, दर्शन र कार्यक्रमको आधारमा पार्टी विभाजन गरेको ? भनेर माधव नेताहरुलाई प्रश्न गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘मैले तपाईहरु समक्ष राख्न खोजेको कुरा के हो भने तपाईहरु आआफ्नो ठाउँबाट जुरुक्क उठनुपर्छ । गाउँगाउँबाट उठनुपर्छ, घरघरबाट उठनुपर्छ, र सोध्नुपर्छ – कुन चाँहि विचारधारामा फरक प-यो, कुन चाँहि दर्शन फरक प-यो ? कुन चाँहि कार्यक्रम फरक प¥यो ? र तिमीले नेकपा एमाले छोडेर छुट्टै राजनीतिक दल बनायौं भनेर प्रश्न गर्नु पर्दछ । विभाजनको औचित्य स्थापित गर्न सक्ने छैनन् साथीहरुले । म यतिमात्रै भन्छु । विभाजनको औचित्य स्थापित गर्नु पर्छ ।

उपनेता नेम्वाङले घरघरबाट बाहिर आएर पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टी निकट कानून व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् पूर्व कानूनमन्त्री अग्नीप्रसाद खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले अध्यक्ष केपी ओलीमाथि हुँदै नभएको जघन्य आरोप लगाएर पार्टीलाई फुटाउने काम गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रचण्डको रणनीति जतिखेर पनि सिध्याउने रणनीति अन्तर्गत उनले जतिखेर पनि काम गरिरहे । पार्टीलाई बलियो बनाउनेतर्फ प्रचण्डको कहिल्यै पनि ध्यान गएन । सरकार कब्जा गर्ने र पार्टी कब्जा गर्ने, यो नीति अन्तर्गत उहाँ चल्नु भयो । जब उहाँको नीति यो हो भन्ने देखिन थाल्यो । पार्टीको नेतृत्वले यो कुरालाई देख्न थाल्यो । स्वभाविकै रुपले यो कुरालाई परास्त गर्नुपर्ने थियो । त्यो कुरालाई परास्त गर्ने क्रममा पार्टी भित्र द्धन्द्ध सुरु हुन थाल्यो । कयौं अपराधजन्य कामहरु भए, १९ बूँदे आरोपपत्रहरु लगाउने काम गरिए ।’

नेता खरेलले दल फुटाउन अध्यादेश ल्याउने काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । लोकतन्त्रमा दलहरु फुटाउने काम गर्नु अपराध हुने उहाँको तर्क थियो ।