१५ बैशाख २०८१, शनिबार

गायिका कनिका कपुरको मुर्खताले पुरै शहर लक डाउन

Kanika Kapoor

बेलायतबाट भारत फर्किएकी भारतीय गायिका कनिका कपुर विमानस्थलको चेकिङ छलेर पार्टीहरुमा सहभागी हुँदा लखनउ महानगर क्षेत्र पुरै लक डाउन भएको छ।

बेलायतबाट फर्किएकी कनिका आइसोलेसनमा नबसी पार्टीहरुमा सहभागी हुँदा पूर्व मुख्यमन्त्रीदेखि सांसदहरू समेत सेल्फ आइसोलेसनमा बस्न पुगेका छन्। प्रशासनले लखनउ महानगर क्षेत्रको सबै सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठानलगायतका सबै क्षेत्र २३ मार्चसम्म बन्द गर्ने निर्णय गरेको छ।

कनिका ९ मार्चमा बेलायतको लण्डनबाट स्वदेश फर्कंदा विमानस्थलमा उनको परिक्षण भएको थियो। परिक्षणमा उनमा कोरोना भाइरसको लक्षण देखिएको थिएन। कतिपयले भने उनी विमानस्थलबाट भागेको दावी गरिरहेका छन्।

उनी विमानस्थलबाट बाहिरिएपछि लखनउ पुगेर तीनवटा ठूला पार्टीमा सहभागी भएकी थिइन्। चार दिनअघि उनको स्वास्थ्य परिक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण देखिएपछि लखनउ शहर पुरै लक डाउन गर्नुपरेको छ।

कनिका बस्ने सोसाइटीमा करीब सात सय फ्ल्याट छ। सो फ्ल्याट बिजेपी राज्यसभा सांसद सञ्जय सेठको हो। स्थानीय प्रशासनले अहिले सो सोसाइटीमा बस्ने सबैको स्वास्थ्य परीक्षणको तयारी गरिरहेको छ।

बसुन्धराको परिक्षण

कनिका स्वदेश फर्किएर लखनउका केही पार्टीमा सहभागी भएकी थिइन्। उनी सहभागी भएको पार्टीमा उच्चतहका राजनीतिक अधिकारीहरु समेत सहभागी थिए। उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि पार्टीमा सहभागी उच्चतहका अधिकारीको स्वास्थ्य परिक्षण गराइएको छ।

अकवर अहमद डम्पीको घरमा भएको पार्टीमा राजस्थानकी पूर्व मुख्यमन्त्री बसुन्धरा राजेसमेत सहभागी थिइन्। कनिकालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि राजेले स्वास्थ्य परिक्षण गराएकी थिइन्। अहिले संक्रमण नदेखिए पनि उनी १४ दिनको सेल्फ आइसोलेसनमा गएकी छन्।

उत्तर प्रदेशका स्वास्थ्यमन्त्री जय प्रताप सिंहको स्वास्थ्य परिक्षणमा संक्रमण नदेखिए पनि उनी पनि आइसोलेसनमा बसेका छन्।

कोरोना भाइरस संक्रमण रोक्न सरकारले बनाएको नियम उलङ्घन गरेर संक्रमणको जोखिम बढाएको भन्दै उनीविरुद्ध मुजप्फरपूरमा उजुरी दर्ता भइसकेको छ। उनी अहिले उपचारका लागि अस्पतालमा छिन्। एजेन्सी