१३ बैशाख २०८१, बिहीबार

अल्पमतमा परे मुख्यमन्त्री भीम आचार्य एक हप्तामै

bhim acharya 1

प्रदेश नम्बर १ मा नेकपा (एमाले)का १० जना सांसद्ले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन् ।

बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एमालेका १० जना प्रदेशसभा सदस्यहरुले नेकपा एसको पक्षमा सनाखत गरेको सांसद् राजन राईले जानकारी दिए ।

एकीकृत समाजवादी रोज्नेहरुमा राजन राई, राजेन्द्र राई, पद्‍मकुमारी गुरुङ, सरिता थापा, उपेन्द्र घिमिरे, गणेश काङबाङ, सुनिता चौधरी, कृष्णकुमारी राई, खिनु लङ्वा लिम्बू र सावित्रा रेग्मी रहेका छन् ।

प्रदेश १ मा ९३ सांसद् रहेकोमा माओवादी केन्द्रका सांसद टंक आङ्वोहाङ एमाले प्रवेश गरेपछि ९२ छन् । उनको सांसद् पद गुमिसकेको छ । एमालेमा ५१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीमा तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा एक–एकजना छन् । मुख्यमन्त्री आचार्यलाई प्रदेशसभामा बहुमतसिद्ध गर्न ४६ सांसद् आवश्यक छ ।

एमालेका ५१ सांसद्‍मध्ये गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । बाँकी रहेका ५० जना सांसद्‍मध्ये १० जना सांसद्ले एमाले छाडेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् ।