२१ मंसिर २०७८, मंगलवार

युवा नेता कल्याण गुरुङले गरे कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

Kalyan Gurung

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर नेता गुरुङले आशन्न १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् । गुरुङ नेविसंघका पूर्वअध्यक्षसमेत हुन् । पार्टीमा उनी रामचन्द्र पौडेल समूहमा छन् ।

पत्रकार सम्मेलनमा गुरुङले नेता कार्यकर्ताको मागअनुसार उम्मेदवारी दिएको र चाँडै आफ्नो टिम सार्वजनिक गर्ने बताए ।

यसअघि कांग्रेस सभापतिमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले सम्पर्क कार्यालयसमेत खोलिसकेका छन् । महामन्त्रीमा गगन थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकपटक नेतृत्वमा दोहोरिने इच्छा देखाएका छन् । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ ।

कांग्रेस केन्द्रीय महाधिवेशन ९–१३ मंसिरसम्म हुने छ । वडा र पालिका तहको भने यसै महिना सम्पन्न हुँदै छ ।