१६ चैत्र २०८०, शुक्रबार

घुमिफिरी रोनाल्डो दुई वर्षका लागि म्यानचेष्टर युनाइटेडमा

cristiano ronaldo 111019
फाइल फोटो

इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दुई वर्षका लागि अनुबन्ध गरेको छ ।

युनाइटेडले मंगलबार रोनाल्डोलाई अनुबन्ध गरिएको जनाएको हो । यस्तै ३६ वर्षीय रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्पसमेत दिइएको युनाइटेडले जनाएको छ ।

रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । सन् २००३ देखि २००९ सम्म युनाइटेडका लागि खेलेका रोनाल्डोले त्यसपछि रियल मड्रिड र युभेन्ट्सका लागि खेले । उनले युनाइटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए ।

युनाइटेडबाट उनले ३ प्रिमियर लिग, १ च्याम्पियन्स लिग, २ लिग कप र १ एफए कप जितेका थिए । पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो स्पेनिस क्लब रियलमा ९ सिजन बिताएर सन् २०१८ मा युभेन्ट्स पुगेका थिए ।

रोनाल्डोले फेरि युनाइटेडका लागि खेल्न आतुर रहेको बताएका छन् । रोनाल्डोले अन्तर्राष्ट्रिय खेलपछि टिमसँग जोडिने र सिजन सफल हुने आशा राखेका छन् । रोनाल्डो इंग्ल्याण्ड, स्पेन र इटलीमा लिग जित्ने पहिलो खेलाडी हुन् ।