१४ बैशाख २०८१, शुक्रबार

गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति नजुट्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ

bipakshi gathabandan neta
फाइल फोटो

सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटका विषयमा सहमति नजुट्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुने भएको छ ।

सोमवार विहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रीपरिषद् बिस्तारबारे छलफल भए पनि कुन दललाई कति र कुन–कुन मन्त्रालय दिने भन्ने बारे सहमति जुट्न नसक्दा निष्कर्ष निस्कन नसकेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा सहभागी सबै नेताहरु सैद्धान्तिक रुपमा सरकारले पूर्णता नपाउँदा समस्या भएको र आलोचनाहरु पनि भइरहेकोमा सहमत देखिए पनि तत्काल सरकार बिस्तार गर्न भने सहमति नबनेको ती नेताले बताए ।

बैठकमा सत्ता गठबन्धनलाई औपचारिक स्वरुप दिएर सरकारका कामलाई प्रभावकारी बनाउन सहयोग गर्ने विषयमा भने सहमति भएको छ ।

यस्तै बैठकमा सहभागी गठबन्धन दलका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारका कामलाई लिएर आलोचना आउन थालेको भन्दै ध्यानाकर्षण पनि गराएको एकीकृत समाजवादीका नेता वेदराम भुसालले जानकारी दिनुभयो ।

देशका विभिन्न स्थानमा देखिएका विपदका घटनामा उद्धार तथा राहतको प्रक्रियामा सरकारको उपस्थिति बढाउन तथा खोपको व्यवस्थापनलाई पनि सहज बनाउन नेताहरुले ध्यानाकर्षण गराएका छन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेताहरु उपेन्द्र यादव र डा बाबुराम भट्टराईसहित नेताहरु सहभागी हुनुहुन्थ्यो ।