१६ चैत्र २०८०, शुक्रबार

निगमले विक्री ग-यो बोइङ ७५७, तीन दिनअघि सम्झाैता सम्पन्न

nepal airlines
फाइल फोटो

नेपाल वायूसेवा निगमले बोइङ ७५७ विक्री गरेको छ । दुई वर्षअघि अमेरिकाको सिएसविएच कम्पनीसँग विक्री प्रक्रिया शुरु गरेको तीन दिन अघि उक्त जहाजको खरिदविक्री सम्झौता सम्पन्न गरिएको निगमका कार्यकारी निर्देशक डिमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

५७ लाख अमेरिकी डलर (६७ करोड ३७ लाख ४० हजार रुपियाँ) मुल्यमा विक्री प्रक्रिया थालिएको त्यसका लागि अमेरिकानै पुगेर खरिदविक्री सम्झौता सम्पन्न गरिएसँगै बोइङको विक्री सुनिश्चित भएको पौडेलले जानकारी दिनुभयो । उक्त ७५७ बोइङ तात्कालिन शाही नेपाल वायूसेवा निगमले सन् १९८७ मा खरिद गरेको गरेको थियो ।

पुरानो जहाज भएको भन्दै आइक्यानले ७५७ बोइङ जहाजलाई सन् २०१८ मा उडान बन्द गराएपछि निगमले विक्री गरेको जनाएको छ । १९० सीट क्षमताको यो जहाजले निगममा लामो समयसम्म मुख्य उडान गरेको थियो ।

निगमले सन् १९९३ मा खरिद गरेको ७२७ बोइङ पनि यस अघि गैह्रआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टलाई विक्री गरेको थियो । विक्री गरिएका दुवै जहाज हाल त्रिभुवन विमानस्थलको पुर्वतर्फको पार्किङमा राखिएको छ ।

सन् १९५८ मा २८ सीट क्षमताको डाकोटा जहाजबाट सेवा विस्तार गरेको निगमले हाल ५० बर्ष अघि सन् १९७१ मा क्यानाडाबाट खरिद गरिएको १९ सीट क्षमताको ट्वीनटर जहाज र सन् २०१५ र २०१८ मा खरिद गरिएको एयरबस ३२० र ३३० जहाजबाट सेवा दिदैआएको छ । हाल निगमले २४ गन्तव्यमा आन्तरिक र नौ वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दैआएको छ ।
वाइडबडीले नियमित उडान भर्दै

प्राविधिक रुपमा गडबडी आएपछि मर्मतका लागि मलेसिया पठाइएको वाइडबडी ३३० जहाज मर्मत सम्पन्न गरी काठमाडौं ल्याइएको निगमले जनाएको छ ।

वाइडबडीले अव नियमीत उडान भर्ने तयारी शुरु गरेको निगमका कार्यकारी निर्देशक डिमप्रसाद पौडेलले जानकारी दिनुभयो । जहाज मर्मत सम्भारका लागि मलेसियन कम्पनीलाई छनौट गरेसँगै वाइडबडी मर्मत गर्न त्यसतर्फ लगिएको उहाँले बताउनुभयो ।