१२ बैशाख २०८१, बुधबार

पूर्वी नवलपरासीको हुप्सेकोटमा पहिरोमा बेपत्ता फेला परेनन्, खोला थुनिदा ताल बन्यो

pahiraa

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ माथिल्लो चार घरेमा पहिरो जाँदा बेपत्ता भएका तीन जना अझै फेला पर्न सकेका छैनन् ।

बिहीबार राति पहिरोमा परि बेपत्ता भएका एकै परिवारका तीन जना अझै फेला पर्न नसककेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिनुभयो ।

शुक्रबार दिनभर उनीहरुको उद्धारमा सातजना प्रहरीको टोली खटिएको थियो । तर फेला पार्न सकेन । शनिबार विहानबाटै उद्धार कार्य जारी राखेको भए पनि अझै फेला पार्न सकिएको छैन । निरन्तर वर्षा भएकाले उद्धारमा समस्या भएको मल्लले बताउनुभएको छ ।

पहिरोमा परी बेपत्ता भएको खोजी कार्यका लागि थप टोली परिचालन गर्न लागिएको मल्लले बताउनुभयो । थप ५० जना सुरक्षाकर्मीको टोली पहिरोमा पुरिएकाको खोजीका लागि पठाएको प्रमुख मल्लले बताउनुभयो ।

एक्साभेटरको प्रयोगमा खोजी गरे सहज हुने भए पनि पहाडी क्षेत्र भएकाले घटनास्थलसम्म साधन पुर्याउन गाह्रो हुने हुँदा सुरक्षाकर्मीको थप टोली परिचालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

पहिरोमा परी हस्तबहादुर पुलामीका श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनीहरू ७ वर्षीया भुमिसार पुलामी र छ वर्षीया देउमाया पुलामी वेपत्ता भएका हुन् । हस्तबहादुरको भने स्थानीय र सूरक्षाकर्मीको टोलीले उद्धार गरेका थिए ।

यसैबीच, हुप्सेकोट गाउँपालिका गिरुवारी खोलाको मुहान क्षेत्र राते खोला थुनिएर ताल बनेको छ । हुप्सेकोट ४ र ५ को रुम्सीलगायतका क्षेत्रमा अहिले पहिरो खसिरहेको छ । शुक्रबारदेखि पहिरो खसिरहेकाले उक्त क्षेत्रमा पहिरोले खोला थुनिएको हो ।

हुप्सेकोट गाउँपालिकाले शनिबार सार्वजनिक सूचना जारी गरेर हुप्सेकोटको वडा नं. ४ र ५ को पहाडी क्षेत्रमा पहिरो खसिरहेको र माथिल्लो भेगमा खोलाहरुको मुहान थुनिएकोले उक्त स्थानबाट बहने गिरुवारी र पत्थर खोलामा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेद्वारा जारी सूचनामा खोला आसपासका क्षेत्रमा बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । त्यहाँको अवस्था बुझ्न प्रहरीसहितको टोली पठाइएको छ ।