१७ बैशाख २०८१, सोमबार

कहाँ लगेर खसीबोका बेच्ने भन्ने चिन्ता हट्यो किसानलाई

khasi boka
फाइल फोटो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको एक सहकारीले दसैँमा मात्रै रु ७० लाख बराबरको खसीबोका बिक्री गरको छ ।

दसैँ सुरु भएयताको समयमा जिल्लाको हुप्सेकोट गाउँपालिका–४, झ्यालबासमा रहेको लेकबेँसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ७० लाख बराबरको खसीबोका बिक्री गरेको हो ।

सहकारीका व्यवस्थापक सुशीला परियारका अनुसार सहकारीले यस वर्ष चार सय ५० खसीबोका बिक्री गरेको छ । किसानबाट खसीबोका सङ्कलन गरी सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रमार्फत बिक्री गर्दै आएको छ । जिल्लाको पहाडी भेगका किसानले हुर्काएका खसीबोका सहकारीले सङ्कलन गरी बिक्री गरेको हो ।

जिउँदो तौल प्रणाली अनुसार सहकारीले यस वर्ष खसीबोका प्रतिकेजी रु पाँच सय ३० देखि रु पाँच सय ६० सम्ममा बिक्री गरेको उहाँले बताउनुभयो । सहकारीले किसानबाट खसीबोका सङ्कलन गरी बिक्री गर्दा किसानले पनि उचित मूल्य पाउने र किसानलाई बजारीकरणको दुःखसमेत नहुने उहाँको भनाइ छ । “अरू खसीबोका किन्न गए मूल्यको ठेगान हुँदैन, हामीले तोकिएको मूल्य र सही तौल मापन गरी लिन्छाँै, किसानलाई उचित मूल्य दिन्छौँ”, व्यवस्थापक परियारले भन्नुभयो, “किसानलाई कहाँ बेच्न भन्ने चिन्तासमेत हुँदैन ।”

उहाँका अनुसार अघिल्ला वर्षभन्दा यस पटक खसीबोका निकै कम बिक्री भएको छ । गत वर्ष करिब एक हजार र त्यसअघिको दसैँमा एक हजार सात सय ५५ वटा खसीबोका बिक्री गरेकामा यस वर्ष निकै कम बिक्री भएको छ । अहिले बजारको मन्दी भएर हो वा के कारणले कम मात्रामा माग भएको यसै भन्न नसकिने व्यवस्थापक परियारले बताउनुभयो । कोभिडपछिका असरहरु बजारमा देखिएको हुनसक्ने उहाँको आङ्कलन रहेको छ ।

सहकारीले विगत ६ वर्षदेखि सामान्य मुनाफा राखी कृषकहरुबाट खसीबोका सङ्कलन गरी बिक्री गर्दै आएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१२, तमासपुरमा रहेको अरुणज्योति सामाजिक महिला उद्यमी सहकारी साथै मैनाघाटमा रहेको कृषि सहकारीले समेत खसीबोका सङ्कलन तथा बिक्री गरेको छ ।

जिल्लामा रहेका सहकारीले कृषकबाट खसीबाख्रा खरिद गरी बिक्री गर्दा बजारीकरणमा बाख्रापालक किसानलाई सहजता मिलेको छ । किसानलाई आफ्ना खसीबोका कहाँ लगेर बेच्न भन्ने चिन्ता हटेको छ ।

नवलपुरको पहाडी क्षेत्रमा प्रशस्त चरण क्षेत्र रहेकाले सो क्षेत्रका धेरै जसो किसानले बाख्रा पाल्ने गरेका छन् । सहकारीले सहजरूपमा बाख्रा खरिद गरिदिने र आम्दानीसमेत राम्रो लिन सकिने भएपछि पहाडी क्षेत्रका किसान बाख्रापालनतर्फ आकर्षित बनेका छन् ।