१९ बैशाख २०८१, बुधबार

काभ्रेमा ‘भुसको आगो’ शैलीमा फैलदै मिर्गौला तस्करी

kidney 1617089672

काभ्रेको बनेपा नगरपालीका वडा नं. ५ बस्ने २८ वर्षीय युवाले आफ्नो मिर्गौला गुमाएका छन् । आफ्नो दाइको मिर्गौला बेच्ने तस्करहरूबारे सूचना खोज्ने क्रममा उनीहरूकै जालोमा परेर उनीले आफ्नो मिर्गाैलासमेत गुमाएका हुन् ।

२०४९ साल देखि काभ्रेको विभिन्न स्थानमा फैलिएको मिर्गाैला व्यापारीहरुको सञ्जाल अझै यथावत रहेको खुलेको छ । केही समयअघिसम्म किड्नी बैंकको रुपमा बदनाम भएको काभ्रेमा फेरि मिर्गाैला तस्कर सलबलाउन थालेको पष्टि भएको छ । द एसिया फाउन्डेसन र विश्व शिक्षाको सहयोगमा जनअधिकार संरक्षण मञ्च (पीपीआर) ले सन् २०१४ मा गरेको अनुसन्धानले १ सय २० देखि १ सय ७८ जनासम्मले काभ्रेमा बेचबिखन गरेको भेटिएको थियो ।

संस्थाले तत्कालीन होक्से, अनेकोट, पाँचखाल, बालुवा, फूलबारी, ज्याम्दी, जैसीथोक, खरेलथोक, साठीघर, भगवतीलगायत ९ गाविसका २ सय ४२ जनामा अनुसन्धान गरेको थियो । गरिबी, अशिक्षा, लहैलहै, देखासिकी, महत्वाकांक्षालगायत कारणले मिर्गौला बेचबिखन गरेको पाइएको अध्ययनमा उल्लेख छ । मिर्गाैला तस्करले आफ्नो जालोमा नयाँ माछोको रुपमा २८ वर्षीय एक युवालाई नाम परिवर्तन गरेर दीपक श्रेष्ठ नामको कीर्ते नागरिकता बनाएर काठमाडौंकी एक महिलालार्ई मिर्गाैला दिएको खुलेको छ ।

पीडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बनेपाले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको डीएसपी हरि खतिवडाले जनकारी दिए । प्रहरीले भुम्लुका ३५ वर्षीय राजकुमार भनिने कुमार परियार, उनकै भाइ ३३ वर्षीय देवराज भनिने सुरेश परियार र पाँचखालका ३१ वर्षीय कुमार परियारलाई बनेपाबाट पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न प्रलोभनमा पारेर गिरोहमार्फत पीडितलाई भारतका विभिन्न अस्पताल लैजाने काम गर्दै आएका थिए । पक्राउ परेकामध्ये २ जना आफैंले आफ्नो मिर्गौला बेचबिखन गरेको पनि खुलेको छ ।

कोलकातास्थित एएमआरआई अस्पतालमा शल्यक्रिया भएपछि उनलाई ६ दिन अस्पताल राखियो । त्यस पश्चात ३ महिना उतै राखियो । गाउँ फर्किएपछि उनले प्रहरीलाई उजुरी गरेका हुन् । यद्यपि गाउँ फर्किएको केही समयमा सुरेश र कुमारले उनलाई दुई किस्तामा गरी ५ लाख दिएका थिए । ‘दाजुको मिर्गौला बेचबिखन गर्ने पत्ता लगाउन खोज्दा आफू पनि मिर्गाैला तस्करको फन्दामा परेको उनले परिवारजनलाई बताएका थिए ।

मिर्गौला बेचबिखन सुरुवात भएको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था, सञ्चारमाध्यम, प्रहरी र प्रशासनको नजर होक्सेमा नै केन्द्रित थियो । मिर्गौला बेचबिखन भएको भन्दै आफ्नो ठाउँको बदनाम भएकोमा स्थानीयहरुको पनि गुनासो रहेको छ । तर बेचबिखन अहिले होक्सेमा मात्रै केन्द्रित रहेको छैन । काभ्रेमा बेचबिखन गर्नेको संख्या करिब २ सय नाघिसकेको अनुमान छ ।

अधिकारकर्मी, प्रहरी, सञ्चारकर्मी आदिले बेचबिखन रोकिएको भन्दै सक्रियता घटाए पनि जिल्लाका विभिन्न स्थानबाट बेचबिखन भइरहेको तथ्य फेला पर्न थालेको छ । यसअघि होक्सेका छिमेकी पाँचखाल, बालुवा, ज्याम्दी, जैसीथोक, खरेलथोक, कोसीदेखा, साठीघर भगवती, फूलबारी बनेपालगायत क्षेत्रबाट पनि बेचबिखन हुदै आएको विभिन्न घटना क्रमहरुले देखिएको छ ।

मिर्गाैला तस्करीको आरोपमा पक्राउ परेका अधिकांश व्यक्तिहरुले आफ्नो मिर्गाैलासमेत बेचेको पाईएको थियो । आफ्नो मिर्गाैलाबेचेपछि उनीहरुले तस्करहरुसँग मिलेर अन्य व्यक्तिको समेत मिर्गौला बेच्ने कुकर्ममा लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।