१४ बैशाख २०८१, शुक्रबार

कानुनी उपचार खोज्ने सभामुख र निर्वाचन आयोगविरूद्ध एमाले अदालतमा जाने

uml kendirya comity meating

नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगविरूद्ध अदालतमा रिट दायर गर्ने भएको छ ।

बिहीबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुलाई सभामुख अग्नि सापकोटाले सूचना टाँस नगरेको र निर्वाचन आयोगले पनि पार्टीले कारवाही गरेकाहरूलाई समेत सनाखत गराएर नयाँ पार्टी गठनमा मान्यता दिएको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको हो।

बैठकका निर्णय जानकारी गराउँदै नेता प्रदीप ज्ञवालीले सभामुख र निर्वाचन आयोग दुवैले गल्ती गरेकाले त्यसविरुद्ध एमालेले कानुनी प्रतिवादमा उत्रने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै, सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा २१ दिनभित्र जनप्रतिनिधिहरूले दल रोज्न पाउने विषयमा पनि कानुनी प्रतिवाद गर्ने उहाँले बताउनुभयो । पार्टीले सबै विषयमा आवश्यक तयारी गरेर अदालत जाने ज्ञवालीको भनाइ छ।

‘सनाखत गर्ने भनेको हस्ताक्षर गरेको रुजु गर्ने हो। तर, हस्ताक्षर नै नभएको र उपस्थित नै नभएका व्यक्तिको पनि सनाखत गरेको छ। निर्वाचन आयोगले विवाद समाधानका लागि भूमिका निर्वाह गर्नुपर्नेमा विवादित काम गरेको छ,’ उहाँकले बताउनुभयो ।

बैठकले स्थायी कमिटीको १० बुँदे सहमति कार्यान्वयनलाई मूर्त रूप दिएको पनि उहाँले जानकारी दिनुभयो ।