१२ बैशाख २०८१, बुधबार

कम्युनिष्ट आन्दोलनको रक्षा गर्न नयाँ पार्टी गठन गरेको नेता नेपालको प्रष्टिकरण

madhav

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नयाँ पार्टी गठन गर्नुपरेको बताउनु भएको छ ।

पार्टी पंक्तिका नाममा एक अपिल जारी गर्दै अध्यक्ष नेपालले ओलीले पार्टी एकताको पक्षमा रहेको भान पार्न अनेक चालबाजी र नाटक गरे पनि एकता अगाडि बढ्न नचाहेको बताउनु भएको छ ।

उहाँले ओलीकै कारण कम्युनिस्ट आन्दोलन विसर्जनतर्फ जाने खतरा बढेकाले आफूहरुले नयाँ पार्टी खोल्नुपरेको बताउनु भएको छ ।

नेकपा एमालेको पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।

नेपालले आफूहरुले पार्टी एकता जोगाउन निरन्तर रूपमा प्रयत्न गरेको भए पनि ओलीले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि एकता कायम रहन नसक्ने स्थिति उत्पन्न भएको स्पष्टिकरण दिनुभएको छ ।

अध्यक्ष नेपालले नेकपा एमालेले स्थापित गरेको विचारको विविधतालाई आत्मसात गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न आफ्नो चाहना भएको पनि अपिलमा उल्लेख गर्नु भएको छ ।

त्यसका लागि एमालेलाई नयाँ ढङ्गले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु पर्ने आवश्यक रहेको उहाँको भनाइ छ।