१५ चैत्र २०८०, बिहीबार

१२ कक्षाका विद्यार्थीलाई खोपको व्यवस्था गरी भौतिक रुपमा परीक्षा लिन संसदीय समितिको निर्देशन

sikha samitte 05 08 2 1024x768 1

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का सबै विद्यार्थीलाई खोपको व्यवस्था गरी भौतिक रुपमा नै परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि बैठकले खोप सुनिश्चित गरी स्वास्थ्य मापदण्ड कायम गराउँदै परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

विश्वविद्यालयहरुले इन्जिनियरिङ सङ्कायमा मनोमानी शुल्क लिइरहेको भन्दै समितिले ट्युसन फि बाहेक अन्य शुल्क रोक्न समेत निर्देशन दिएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव राम प्रसाद थपलियाले परीक्षा होम सेन्टरमा गर्ने गरी अन्तिम तयारी भएको र खोपका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।

कक्षा १२ को विद्यार्थीलाई कोभिड विरुद्धको खोप दिएर परीक्षा सञ्चालन गर्न परीक्षा स्थगित गरिएको जानकारी दिनुहुँदै सचिव थपलियाले कम्तीमा १५ दिनअघि सूचना दिएर परीक्षा सञ्चालन गरिने बताउनुभयो ।

मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख एवम् सहसचिव डा. हरिप्रसाद लम्सालले इन्जिनियरिङ सङ्कायमा लिएको शुल्कका विषयमा विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरी बढी शुल्क लिएको पाइए रोक्ने जानकारी गराउनुभयो ।

सांसदहरुले कक्षा १२ का सबै विद्यार्थीलाई पूरा मात्रा खोपको सुनिश्चित गरी परीक्षा सञ्चालन गर्न र इन्जिनियरिङ सङ्कायमा लिएको शुल्क ठगी भएकाले फिर्ता गराउन र त्यस्ता कलेज प्रशासनलाई कारबाही गर्न माग गर्नुभयो ।