
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत विपत्का कारण परिवारको सदस्य गुमाएको शोकमा परेका परिवारका लागि सहयोग अभियान लिएर देशव्यापी अभियानमा निस्किएका छन् ।
काँग्रेसको केन्द्रीय समितिले बस्नेतको संयोजकत्वमा बाढीपहिरो पीडित विपद् व्यवस्थापन समिति गठन गरेको थियो । सोही समितिले राहत अभियान तीव्र पारेको छ ।
समितिले अहिलेसम्म विभिन्न जिल्लाका १६ परिवारलाई सहयोग प्रदान गरिसकेको छ । विपत्का कारण परिवारको सदस्य गुमाएर शोकमा परेका परिवारलाई मन्त्री बस्नेतले भेटेर समवेदनासँगै राहत प्रदान गर्ने गरेका छन् ।
पीडितका परिवारलाई जनही २५ हजार रुपैयाँका दरले राहत सहयोग गरिएको बस्नेतले बताए । शनिबार गोरखा र तनहँका बाढीपहिरो प्रभावित सात परिवारका लागि राहत वितरण गरिएको उनले जानकारी दिए ।
मकवानपुर, रौतहट तथा सर्लाहीका पीडितलाई भेट्न जाने क्रममा चितवनमा पत्रकारहरूसँग कुरा गदैै बस्नेतले जनताको दुःखमा काँग्रेसको सधैं साथ रहने बताए ।उनले चितवनका दुई परिवारलाई सोमबार विहान राहत वितरण गरिने बताए । यस्तै नेता बस्नेतले आइतबार र सोमबार भित्रमा रौतहटका ३, सर्लाही र मकवानपुरका १ परिवारलाई राहत वितरण गर्न लागिएको बताए ।
पूर्वका जिल्लामा राहत वितरण गरिसकेपछि उनको लुम्बिनी प्रदेश जाने कार्यक्रम रहेको काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय महासचिव एवंम कांग्रेस चितवनका महासमिति सदस्य सुवोध प्रधानले जानकारी गराए ।
गृह मन्त्रालयको तथ्याङका आधारमा बाढीपहिरोबाट यस वर्ष ७१ जनाको मृत्यु भएको छ । समितिले देशका विभिन्न २९ जिल्लामा पुगेर सहयोग गर्ने कार्यक्रम रहेको जनाएको छ । नेपाली काँग्रेस चितवनका कोषाध्यक्ष शंकरप्रसाद कंडेलले पार्टीको अभियानले विपत्मा परेकाहरूको घाउमा मल्हम लगाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर सातका वडाध्यक्ष लालबहादुर भट्ट ‘राजन ’ , तरुण नेता दिपक पौडेल , नेपाल तरुण दल भरतपुरका अध्यक्ष चित्र रानामगर लगायतको उपस्थिति रहेको थियो ।