१६ चैत्र २०८०, शुक्रबार

गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य : पूर्वसञ्चार मन्त्री बस्नेत

Mohan Bahadur Basnet

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताउनुभएको छ ।

चामुण्डा माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले आज विद्यालय भवन जोरपाटीमा गरेको सम्मान कार्यक्रममा उहाँले शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने धारणा राख्नुभयो ।

शैक्षिक सङ्घ संस्थाले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुहुँदै पूर्वमन्त्री बस्नेतले औपचारिक शिक्षाले मात्र जीवन पूर्ण नहुने बताउनुभयो । समाजसेवामा लाग्न अभिप्रेरित गर्दै उहाँले अरुलाई सेवा गरे बापत प्राप्त हुने आनन्द सबैभन्दा महत्वपूर्ण भएको धारणा राख्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले शैक्षिक विकासमा नगरपालिकाले उदाहरणीय काम गरिरहेको बताउनुभयो । नगरपालिकाका शैक्षिक संस्थालाई आगामी दिनमा अझ सशक्त बनाइने उहाँले बताउनुभयो ।

चामुण्डा माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चका अध्यक्ष कुमारराज सुवेदीले संस्कारसहितको शिक्षा आजको आवश्यकता हो भन्दै मञ्चले गर्दै आएका सिर्जनात्मक कामका बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा चामुण्डा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकसिंह भण्डारी, चामुण्डा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गुणराम आचार्य, जोरपाटी गाविसका पूर्वअध्यक्ष गोपाल बराललगायतले समुन्नत समाज निर्माणमा शिक्षाको भूमिका बारे चर्चा गर्नुभयो ।

सोही अवसरमा पूर्वमन्त्री बस्नेतले चामुण्डाका पूर्वविद्यार्थीसमेत रहनुभएका समता स्कुलका सञ्चालक उत्तम सञ्जेललाई सम्मान गर्नुभयो । विगतमा सोही विद्यालयमा शिक्षक शिक्षिकाको भूमिकामा रहनुभएका कोषबहादुर जिसी, शिला बस्नेत, निर्मल ढकाल र देवी ढुंगानालाई पनि कार्यक्रममा सम्मान गरियो ।

यसैबीच मञ्चको आजै सम्पन्न पहिलो साधारणसभाले कुमारराज सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । मञ्चको उपाध्यक्षद्वयमा क्रमश ः रत्नमान लामा ‘आँशु’ र नवराज पुडासैनी ‘ज्योत्सना’ रहनुभएको छ । सचिवमा बच्चुराम शर्मा कुइँकेल, कोषाध्यक्षमा लक्ष्मी शाह र सहसचिवमा प्रविण घिमिरे रहनुभएको छ । सदस्यहरूमा डा सोमबहादुर धिमाल, डा राजु पौडेल, कुमार पौडेल, रमेश रिजाल, गीता शाह, संगीता ठकुरी र केदार नेपाल चयन हुनुभएको छ । २०२४ सालमा स्थापित चामुण्डा मावि मुलुकको उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक मानिन्छ ।

    सम्बन्धित समाचार...