१५ चैत्र २०८०, बिहीबार

आगामी चुनावपछि माओवादी केन्द्र देशकै सबैभन्दा ठूलो वामपन्थी दल बन्छः नेता पुन

pun

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले आगामी चुनावपछि माओवादी केन्द्र देशकै सवैभन्दा ठूलो वामपन्थी दल बन्ने बताएका छन् ।

शनिबार सुर्यविनायक नगरपालिकामा आयोजित वाइसीएल, नेपालकाे नगर भेलालाई सम्बाेधन गर्दै उनले भने, ‘आगामी चुनावपछि माओवादी केन्द्र सवैभन्दा ठूलो वामपन्थी दल बन्छ । तपाईंहरु त्यसका लागि लाग्नुस् ।’

नेता पुनले बृहत कम्युनिष्ट एकता गर्ने तयारीका साथ गरिएको माओवादी एमाले एकता केपी ओलीका कारण असफल भएको बताए । नेता पुनले भने, ‘उनको प्रतिगामी सोचका कारण नेकपा विघटन भयो । ओलीको व्यवस्था विघटन गराउने तयारी विरुद्ध हामीले संघर्ष गरेर व्यवस्था बचायौं ।’

कार्यक्रममा पनि १६७ युवा माओवादी प्रवेश गरेका थिए । नवप्रवेशीलाई माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन, केन्द्रीय सदस्य तथा वाईसिएल अध्यक्ष रामप्रसाद सापकोटा, केन्द्रीय सदस्य दिलिप प्रजापती, भक्तपुर जिल्ला अध्यक्ष डिपि ढकाल लगायतले स्वागत गरे ।

कार्यक्रममा बोल्दै वाइसिएल अध्यक्ष सापकोटाले कम्युनिष्ट आन्दोलनकै खराब व्यक्तिका अवैध सन्तान भक्तपुरमा पनि रहेको भन्दै त्यस्तालाई अगामी चुनावमा हराउनेगरि तयारी थाल्ने निर्देशन दिए ।

भक्तपुर जिल्ला अध्यक्ष ढकालले महेश बस्नेत अबको चुनावबाट भक्तपुरको भूपु सांसद हुने ठोकुवा गरे । कार्यक्रममा सुरेन्द्र सुवालको अध्यक्षतामा ४१ सदस्यीय वाइसीएलको नगरकमिटि घोषणा गरिएको थियो ।