१२ बैशाख २०८१, बुधबार

कांग्रेस अबको चार–पाँच महिनामा शासन गर्न नसक्ने दल भनी प्रमाणित हुन्छ : पशुपति राणा

Raprapa 1 1

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति पशुपति शम्शेर राणाले अध्यादेश विधेयकका कारण देश अस्थिरताको भूमरीमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार राणाले पार्टी केन्द्रीय कार्यालय चावहिलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भने, “ओली सरकारले ४० प्रतिशतको सीमासहित दल विभाजनको विधेयक ल्याउँदा विरोध गर्ने गठबन्धन सरकार पक्षधरले २० प्रतिशतको नयाँ प्रवाधान राखेर विधेयक ल्याएको छ । यसक्रमले देशमा अस्थिर आउने निश्चित छ ।”

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले एक महिना एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै राणाले आलोचना गरे ।

“गत चुनावपछि दुईवटा ठुला दल थिए । कम्युनिस्ट धारको दल तीन टुक्रामा चकनाचुर भएको छ । नेपाली कांग्रेस पनि अबको चार–पाँच महिनामा शासन सञ्चालन गर्न नसक्ने दल भनेर प्रमाणित हुने छ,” उनले भने ।

“यस अवस्थामा महाधिवेशनबाट खारिएको राप्रपा राजसंस्था र हिन्दुत्वलगायतको नारा बोकेर जनतामाझ स्थापित हुने छ । देशको हितका लागि आन्दोलन गर्ने छ,” राणाले भने ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीका सप्तरी जिल्लाका प्रभावशाली नेताहरु र स्वतन्त्र नागरिहरुले सो अवसरमा राप्रपामा प्रवेश गरेका थिए ।

२०५४ सालको स्थानीय निर्वाचनमा राजविराज नगरपलिकाको मेयर पदको प्रत्यासी, नेपाली कांग्रेसको महासमिति सदस्य उमेशप्रसाद साहको नेतृत्वमा ५७ जनाले राप्रपाको सदस्यता ग्रहण गरे ।

नवप्रवेशीहरुलाई राप्रपा सचिवालय प्रमुख ध्रुव प्रधानले स्वागत गरे । धार्मिक आस्था र परम्परागत मूल्यमा अडेको राप्रपा नै हालको विकल्प भएको दाबी गरे ।

नवप्रवेशी उमेश प्रसाद साहले भने, “म बिपी कोइराला र गिरिजाप्रसाद कोइरालासँग काम गरेका व्यक्ति हुँ । राजनीतिक जीवनमा मैले जेलनेल व्यहोरेको छु । विगत जे भए पनि, वर्तमान परिवेशमा मैले र मेरा साथीहरुले सही राजनीतिक पार्टी रोजेका छौँ । राजसंस्था र हिन्दुराष्ट्र नै समयको माग हो ।’

राप्रपा सप्तरी जिल्ला अध्यक्ष उम्देश्वरप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुमा महासमिति सदस्य तथा नेपाल एयरलाइन्सका पूर्वनिर्देशक र इञ्जिनियर राजकुमार चौधरी, सुरेन्द्रकुमार साह, रामबहादुर साफी, मुकेश साफी, हरदेव सोनार, करण साफी, जानकी रजक, प्रभात सहनी, अशोक रजक, भगवान गुप्ता, सिफैत लाल खंग, छट्टुलाल खंग, हरीदेव मण्डल, शिवजी सदा, शंकर साह र लालु दास थिए ।

यसैगरी नेकपा परित्याग गरी राप्रपा प्रवेश गर्नेहरुमा एमालेसम्बद्ध शिक्षक संगठन जिल्ला सदस्य जयाकुमारी महतो, काजल महतो, निलमदेवी सदा र राजकुमार सदा छन् । नेकपा माओवादीबाट राप्रपामा प्रवेश गर्नेहरुमा जाकिर रजक, अबदल गनी, सुशीला दास, निर्मला सहनी र चन्दु मिश्र थिए ।

राप्रपामा प्रवेश गर्ने स्वतन्त्रहरुमा शंकर साह, हरीदेव मण्डल, वालसुन्दर खंग, शत्रुघनप्रसाद गुप्ता, अरविन्द साह, रवी साह, गणेश सहनी, श्रीमति सावित्री देवी, हनुषा देवी साह, वैद्यनाथ यादव (वमवम यादव), कपिलेश्वर मण्डल तथा कुपीरामपूरा मण्डल लगायत थिए ।