७ बैशाख २०८१, शुक्रबार

विधिवत रुपमा फुट्यो एमाले, दर्ता गरे नेकपा एमाले (समाजवादी)

madhav kumar nepal

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधिवत रुपमा फुटेको छ । राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशका आधारमा वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजित भएको हो ।

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ने चुनाव चिन्ह खुल्ला किताब राखिएको छ ।

नवगठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको बताए ।

नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन् ।

२०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले विभाजित भएर नेकपा माले गठन भएको थियो । २४ वर्षपछि एमालेका पूर्वमहासचिव नेपालकै नेतृत्वमा एमाले विभाजित भएको हो । अध्यक्ष केपी शर्मा ओलीसँगको निरन्तरको राजनीतिक टकरावले अब विभाजनको रूप लिएको छ ।

यद्यपि नेपालसँगै लामो राजनीतिक सहकार्य गरेका अधिकांश नेताहरूले विभाजनमा भने उनलाई साथ दिएनन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अमृत बोहोरा, रघुजी पन्त, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरूले विभाजनमा साथ दिन नसकिने बताएका छन् ।