१३ बैशाख २०८१, बिहीबार

अष्टलक्ष्मीलाई वागमतिको मुख्यमन्त्री बनाइने, डोरमणिले राजीनामा दिने

asta laxmi shakya

नेकपा एमाले विभाजनको अन्तिम तयारी भइरहेका बेला माधव नेपाल समूहमा ट्वीस्ट आउन थालेको छ । त्यसको प्रभाव सबैभन्दा पहिले वागमति प्रदेश सरकारमा देखिन लागेको छ ।

बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको हो। मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने सहमति भएको एमालेका एक सांसदले बताए ।

माधव नेपाल पक्षकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि उनलाई आजै साँझ वा भोलि विहानसम्म वागमतिको मुख्यमन्त्री बनाइने भएको छ ।

मुख्यमन्त्रीबाट राजीनामा दिनुअघि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । संसदीय दलको बुधबार बसेको बैठकले उनको राजीनामा स्वीकृत गर्दै दलको नेता चयनका लागि तीन सदस्यीय समिति बनाएको छ ।

समितिमा दीपकराज पाण्डे, दीपक निरौला र रचना खड्का छन् । यो समितिले दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया पूरा गर्नेछ । सांसद अरुण नेपालका अनुसार अब दलको नेतामा शाक्य चयन हुनेछिन् र उनी मुख्यमन्त्री बन्नेछिन् ।

११० सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद छन् । मुख्यमन्त्री पौडेल अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् भने मुख्यमन्त्रीमा प्रस्ताव गरिएकी शाक्य माधव नेपाल समूहका हुन् । शाक्य मुख्यमन्त्री बनेपछि माधव पक्षका प्रदेशसभा सदस्यहरु नैतिक संकटमा पर्नेछन् ।

शाक्य र अरुण नेपाल एक ठाउँमा उभिएपछि माधव पक्षका धेरै सांसद रोकिने र बहुमतप्राप्त संसदीय दलको नेताका रूपमा शाक्य मुख्यमन्त्री भएपछि २ वर्ष अविश्वास प्रस्ताव पनि ल्याउन नपाइने भएकाले एमालेले यो तरिका अपनाएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले दलको बैठक बस्न लागेको जानकारी दिए ।

तर नेता नेपालले एमाले फुटाएर नेकपा एमाले समाजवादी बनाउने निर्णय गरेपछि उपाध्यक्ष शाक्यसहित स्थायी कमिटीका धेरै नेताले उनको साथ छाडेका छन् ।