१३ बैशाख २०८१, बिहीबार

नयाँ पार्टी बनाउने गृहकार्यमा जुट्यो एमालेको नेपाल–खनाल समूह

madhav jhalanath
फाइल फोटो

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि एमालेको नेपाल–खनाल समूह नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेको छ ।

नेपाल–खनाल समूहले अहिले आफ्नो पक्षमा उभिने केन्द्रीय सदस्य र सांसदको हस्ताक्षर संकलन गरिरहेको छ । यो समूहका नेता अहिले बानेश्वरको एक होटलमा जम्मा भएका छन् ।

बेलुकीसम्म हस्ताक्षर संकलन गरेपछि भोलि नयाँ दल बनाउन निवेदन दिने नेपाल–खनाल समूहको तयारी छ । उपाध्यक्ष बामदेव गौतम पनि आफुतिर आएको नेपाल खनाल समूहले दाबी गरेको छ ।

गौतमसँगै सांसद तुलसा थापा र माया ज्ञवाली पनि नयाँ पार्टी बनाउन तयार भएको यो समूहले जनाएको छ । नेकपा एमालेका १ सय २१ जना सांसद छन्।

यस्तै २ सय ३ सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा दर्ता छ । ७० भन्दा बढी केन्द्रीय सदस्य र ३० भन्दा बढी सांसदको हस्ताक्षर सहित नयाँ पार्टी बनाउन निवेदन दिने नेपाल खनाल समूहका एक नेताले बताएका छन् ।

स्थायी कमिटीका धेरै सदस्यले भने नयाँ पार्टी बनाउन साथ नदिने भएका छन् । यसअघि नेपाल–खनाल समूहमा रहेका उपाध्यक्ष भीम रावल, सचिव योगेश भट्टराइ, गोकर्ण विष्ट, भीम आचार्य, नेता सुरेन्द्र पाण्डे लगायतले भने नयाँ पार्टी बनाउन साथ नदिने संभावना छ ।