१४ बैशाख २०८१, शुक्रबार

नेपालले अफगानिस्तानबाट सिक्नुपर्ने के ?

taliban 1

विद्रोही समूह तालिबानले अफगानिस्तानमा नियन्त्रण जमाएपछि विश्वको ध्यान अफगानिस्तानमा परेको छ । तालिवानले २० बर्षपछि फेरि सत्ता कब्जा गरेपछि यसबाट नेपालले पाठ सिक्नुपर्ने धेरैको विश्लेषण छ ।

दक्षिण एशियाली मुलुक नेपाल र अफगानिस्तानका बीचमा साझा विशेषता छन् । हिमाली काखमा रहेका भूपरिवेष्ठीत यी देशहरु भुराजनीतिक हिसाबले पनि समान छन् । धार्मिक रुपमा अफगानिस्तान मुस्लीम बाहुल्य र नेपालमा हिन्दु जनमत छ ।

दुबै देशमा मुलत आर्य नस्लका मानिसका बसोबास छ । अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि अहिले सबैको ध्यान तानेको छ । भू-सामरिक मामिलाका जानकारहरु अफगानिस्तान मामिला धार्मिक कट्टरपन्थी र कम्युनिष्टहरुबीचको आन्तरिक मामिला मात्रै भन्दा पनि त्यसमा खेल्न खोज्ने विदेशी हस्तक्षेपको परिणाम भएको बताउँछन् ।

अर्थात् अफगानिस्तानमा आन्तरिक अनेकतामा विदेशी शक्ति राष्ट्रलाई बुँइ चढाउनेहरुले मुलुक तहसनहस बनाएको बताइन्छ । विदेश नीतिमा एकरुपता नबनाउने हो भने यस्तै अवस्था अरु मुलुकलाई पनि आइलाग्ने विज्ञहरु बताउँछन् ।

अफगान मामिलालाई नजिकबाट नियालेका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठका विचारमा मुलुक आत्मनिर्भर हुन आफ्नै माटो सुहाउँदो विकास र शिक्षा जरुरी छ । अन्यथा विदेशी परियोजनालाई आँखा चिम्लिएर स्वीकार्ने र उनीहरुको इन्ट्रेस्टमा अघि बढे नेपालजस्ता ‘तेस्रो विश्व’ भनिने मुलुकको हालत पनि अफगानिस्तानसरह हुन बेर नलाग्ने उनको चेतावनी छ ।

विचारधारमा विभाजित विश्व महाशक्तिलाई सन्तुलन राख्न नसके ‘बफर जोन’ भनिने नेपाल पनि समस्यामा फस्न सकिने कयौँको मत छ । यस्तो अवस्थामा नेपालले शक्ति राष्ट्रसँग खेल्ने कोशिस गर्ने भन्दा पनि सन्तुलन कायम गर्नुपर्ने जानकारहरु बताउँछन् । अफगानिस्तानमा अहिले देखिएको समस्यालाई कतिपयले अर्काै कोणबाट पनि विश्लेषण गरेका छन् ।

दोहोरो नागरिकता तथा विकसित मुलुकको ग्रिन कार्ड र पीआरधारी बर्तमान राष्ट्रपति असरफ घानी तथा उनीजस्ता कयौँ नेताले अफगान जनतालाई घात गरेको विश्लेषकहरु बताउँछन् । यसअर्थमा नेपालले पनि अफगानिस्तानबाट शिक्षा लिन जरुरी रहेको विश्लेषक पुरञ्जन आचार्य बताउँछन् ।

सन् २००१ मा अमेरिकाको आक्रमणपछि सत्ताबाट च्यूत भएको तालिबानले अमेरिकी सेना फिर्ता गएसँगै अफगानिस्तानमा कब्जा जमाएको हो । अमेरिकी सेनाले २० वर्षसम्म अफगानिस्तानमा लडाइँ ग¥यो । यो क्रममा अमेरिकाले अर्बौं डलर खर्चिएको थियो । अलकायदासँगको सम्बन्ध तोड्ने बाचा गरेपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सेना फिर्ता लिने सम्झौता गरे ।

सोही सम्झौतालाई ट्रम्पका उत्तराधिकारी बहालवाला राष्ट्रपति जो बाइडेनले कार्यान्वयन गरे । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको पेन्टागनमा ट्वीन टावर हमलापछि ओसामाविन लादेन र उसलाई आश्रय दिएको तालिबानविरुद्ध सैन्य मिसन थालेको अमेरिका २० वर्षपछि घर फर्कदै गर्दा अफगानिस्तान रणभूमिमा परिणत भएको छ । यसको बाछिटाले दक्षिण एसियाली मुलुक नेपाललाई पनि छोएको छ ।

जस्तो कि बैध वा अवैध बाटोमा पुगेका २ हजार हाराहारी नेपाली अहिले उद्धारको पर्खाइमा छन् । जुन गरिवी र आर्थिक अवस्थाले निम्त्याइएको परिणामको एउटा पाटो हो ।