
बेलायती सेनाका भूतपूर्व गोर्खा सैनिकहरुको माग पूरा गराउनका लागि बेलायत सरकारसँग कूटनीतिक पहलका लागि सरकारलाई नेकपा एमालेले ध्यानाकर्षण गराएको छ ।
एमालेले भूतपूर्व गोर्खा सैनिकहरुले उठाएको बेलायती सैनिक सहर पेन्सन लगायत समान सुविधा पाउनुपर्ने माग स्वाभाविक, जायज र मानवीय रहेको ध्यानाकर्षणमा उल्लेख गरेको छ ।
‘समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायतबीचको दुई सय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर यस समस्याको समाधान गर्न बेलायत सरकारसँग कूटनीति पहलका लागि नेकपा एमाले नेपाल सरकारको ध्यानाकर्षण गर्दछ’, पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधानका लागि बेलायत सरकारलाई बारम्बार आग्रह गरेको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री ओलीले सन् २०१९ मा बेलायत भ्रमणका क्रममा गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सन्धिको पुनरावलोकन गर्ने प्रस्ताव राखेको उल्लेख छ ।
