१६ मंसिर २०७८, बिहीबार

कराँचीमा भएको ग्रिनेड आक्रमणमा १३ जनाको निधन, कैयौँ घाइते

pakisthan grinet attct

पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको निधन भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ ।

आक्रमण बेलुकी ९:३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको प्रयोग गर्दै गरेको प्रारम्भिक अनुसन्धानबाट स्थानीय प्रहरीले त्यस आक्रमणमा एउटा ग्रिनेड प्रयोग गरिएको बताएको छ ।

“यस आक्रमणको पछाडि को थियो, हामी भन्न सक्दैनौँ । घटनाको प्रकृति हेर्दा पारिवारिक विवाद जस्तो देखिएको छ यसबारे थप अनुसन्धान भइरहेको छ,” स्थानीय एक प्रहरी अधिकारीले बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक इमरान याकोबले भन्नुभयो, “यो आतङ्कवादी हमला पनि हुन सक्छ । हामीसित यसबारे अझै कुनै ठोस प्रमाण नभेटिएको र अनुसन्धान जारी रहेकोले कुनै निष्कर्षमा पुगिहाल्नु हतार हुनेछ ।”

आतङ्कवाद विरोधी विभाग (सीटीडी) का वरिष्ठ अधिकारी, राजा उमर खत्ताबले प्रारम्भिक अनुसन्धानले यो ग्रिनेड आक्रमण भएको देखिएको बताउनुभयो । गाडीको कुनै भागमा ठोकिनु अघि नै ग्रिनेड विस्फोट भएकोजस्तो देखिएको उहाँले बताउनुभयो ।

आक्रमणकारीहरू मोटरसाइकलमा आइ आक्रमण गरेको प्रारम्भिक अनुसन्धानले देखाउँछ । थप कुरा अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।

अतिरिक्त प्रहरी डा.कारार अब्बासीले डा.रुथ फाउ सिभिल अस्पतालमा १० जनाको मृत शरीर ल्याइएको पुष्टि गर्नुभयो । उहाँका अनुसार पीडितहरूमध्ये छ जना महिला र चार जना केटाकेटी थिए ।

घटनामा घाइते भएका अन्य १० जनालाई उपचारका लागि अस्पताल ल्याइएको अब्बासीले बताए । सिन्धका मुख्यमन्त्री मुराद अली शाहले घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्‍याउन प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिँदै घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो ।