१४ बैशाख २०८१, शुक्रबार

कागजमै सीमित वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन

Balbalika student

कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा सरकारले वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न भनेको छ । तर वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिने भनिए पनि पहाडी जिल्ला सल्यानमा त्यो प्रयास सफल हुन सकेको छैन ।

नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिनाभन्दा बढी भइसक्दा समेत सल्यानमा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन हुन सकेको छैन ।
गाउँमा इन्टरनेटको सुविधा नहुँदा ग्रामीण भेकका बालबालिका यतिबेला पठनपाठनमा भन्दा पनि घरायसी कामकाजै व्यस्त हुन थालेको स्थानीय राज कुमारी बस्नेतले बताउनुभयो । शहर बजारको जस्तो सेवा सुविधा नहुँदा आफ्ना बच्चा बच्ची विगत ४ महिनादेखि पढ्नबाट वञ्चित भइरहेको उहाँले बताउनुभयो ।

सदरमुकाम रहेको शारदा नगरपालिकाका केही विद्यालयले वैकल्पिक विधिबाट पठनपाठन गराएको भए पनि सदरमुकामकै धेरै विद्यालय बन्दै नै छन् । शितलपार्टीमा रहेको शिवजन माध्यमिक विद्यालय र लुहापिङमा रहेको त्रिभुवन जन माध्यमिक विद्यालयले भने अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेका छन् ।

अनलाइन कक्षा गरे पनि विद्यालयले भने सबै विद्यार्थीलाई अनलाइनको पहुँचमा ल्याउन नसकेको शिवजन माध्यमिक विद्यालय शारदा नगरपालिका–१ शितलपार्टीका प्रधानाध्यापक हिरालाल नेपालीले बताउनुभयो । कतिपय ठाउँमा नेटको पहुँच भए पनि अनियमित विद्युत्का कारण समस्या हुने गरेको उहाँले बताउनुभयो ।

“अभिभावकहरूले शैक्षिक सामाग्री किनिदिने सम्भावना निकै कम छ । एउटै घरका दुई तीन जना विद्यार्थी हुन्छन् । अभिभावकले एकै पटक दुई तीन वटा मोबाइल, कम्प्युटर, ल्यापटप किन्न सक्ने अवस्था छैन ।” उहाँले भन्नुभयो ।

लामो समयदेखि विद्यालय बन्द हुँदा जिल्लाका पाँच सय विद्यालयका झन्डै ६० हजार विद्यार्थी घरायसी कामकाजमै व्यस्त हुने गरेका छन् ।

विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने, टेलिभिजनमा पहुँच हुनेलाई टेलिभिजन कार्यक्रम, रेडियो कार्यक्रम र इन्टरनेटको माध्यमबाट सूचना प्रविधिबाट कक्षा सञ्चालन गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयन नहुँदा कागजमै सीमित भएको छ ।