१६ चैत्र २०८०, शुक्रबार

बाढीले बगाउँदा एक बालकसहित एकै घरका तीन जनाको निधन

kathmandu flood 2077 23
सांकेतिक तस्विर

जुम्ला । अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जुम्ला ताम्ती गाउँका एक बालकसहित एकै घरका तीन जनाको निधन भएको छ ।

निधन हुनेमा तातोपानी गाउँपालिका–७ ताम्ती जुम्लाका १० वर्षीय बालक सन्देश रावत, आमा ३५ वर्षीय जैसरा रावत र उनका जेठाजु ६० वर्षीय बिर्खे रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

सोही वडाको पाटनमा सेतक चिनी जडिबुटी कोरेर घर फर्कने क्रममा बिहीबार बेलुका दुनेखोलामा आएको बाढीले बगाएर उनीहरूको निधन भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

उनका अनुसार फोन सम्पर्क नहुँदा घटनाको खबर ढिला आएको र ताम्ती पाटन पुग्न सदरमुकाम जुम्लाबाट करिब ४० किलोमिटर टाढा भएकाले प्रहरीलाई स्थलगत मुचुल्का बनाउन ढिला भएको हो । आफन्त र स्थानीय जनप्रतिनिधिको रोहवरमा मुचुल्का बनाएर प्रहरी फर्किसकेको छ ।

दुई साता अघि जुम्ला पातारासी गाउँपालिकाको छुमचौर निवासी एक अपाङ्गता भएका महिला पानीघट्ट गएको बेला छुमचौर खोलामा आएको बाढीले बगाउँदा ज्यान गएको थियो ।