१५ चैत्र २०८०, बिहीबार

खेल जगतमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन : पूर्व मन्त्री बास्कोटा

baskota

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपालमा खेलिँदै आएको पुराना खेलहरू लोप हुँदै गएको बताउनुभएको छ ।

नेकपा (एमाले) निकट नेपाल खेलकुद महासङ्घ काभ्रेले आज बनेपामा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्नुहुँदै पूर्व मन्त्री बास्कोटाले खेल जगतले व्यक्ति मात्र नभई देशलाई चिनाउँदै आएको बताउनुभयो ।

उहाँले देशका पुराना खेलहरू लोप हुन नदिन खेलकुद महासङ्घलाई सक्रिय रुपमा लाग्न आग्रह समेत गर्नुभयो ।

खेलमा सधैँ राजनीति हुँदै आएको बताउनुहुँदै पूर्व मन्त्री बास्कोटाले अबका दिनहरूमा कुनै पनि पार्टीले खेल जगतमा हस्तक्षेप गर्न नहुने बताउनुभयो ।

उहाँले अघिल्लो सरकारले खेलकुद, पर्यटन, पूर्वाधार, राष्ट्रिय स्वाधीनता, स्वास्थ्य क्षेत्र तथा प्राकृतिक चिकित्सा क्षेत्रहरूमा संरक्षण गर्दै आएको बताउनुभयो ।

नेपाल खेलकुद महासङ्घको जिल्ला भेलाले १३ वटा स्थानीय तहबाट ९९ जनाको जिल्ला कमिटी संयोजक र सचिव चयन गरेका छ ।