६ बैशाख २०८१, बिहीबार

दुई करोड रुपियाँ ठगी गरेर पोर्चुगल पुगेका अभियुक्तलाई इन्टरपोलको सहयोगमा काठमाडाैं ल्याइयाे

NEPAL POLICE

बैंक र विभिन्न व्यक्तिबाट करिब दुई करोड रुपियाँ ठगी गरेर पोर्चुगल पुगेका एक व्यक्तिलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको छ । बैङ्कसहित विभिन्न व्यक्तिबाट करोडौँ रुपियाँ ठगी गर्ने व्यक्तिलाई पोर्चुगलबाट प्रहरीले इन्टरपोलको सहयोगमा आज नेपाल ल्याएको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस ४ र हालको भुम्लु गाउँपालिका १ का केदार ढुङ्गाना रहनुभएको छ । डीएसपी निशान्त श्रीवास्तवको इन्टरपोलको टोलीले पोर्चुगल पुगेर ठगी गर्ने ढुङ्गानालाई पक्राउ गरेको हो ।

सीआईबीले ढुंगाना समूहकै ठगी प्रकरणमा २०७५ सालमा भुम्लुकै नारायण श्रेष्ठ, नवीन श्रेष्ठ, काभ्रेकै कृष्णबहादुर खत्री, काठमाडौँका नरेशमान सिंह, सरिनशंकर श्रेष्ठलाई पक्राउ गरेको थियो ।

नरेशमान सिंह बैंकका भ्यालुएटर रहनुभएको थियो भने सरिनशंकर ब्रान्च म्यानेजर रहनुभएको थियो । यो गिरोहका सबै सदस्य त्यसबेला पक्राउ परे पनि मुख्य योजनाकार ढुंगाना फरार रहनुभएको थियो ।

ढुङ्गानाले तत्कालीन इनडिइपी डेभलपमेन्ट बैंक र विभिन्न व्यक्तिबाट गरी करिब दुई करोड रुपियाँ ठगी गर्नुभएको थियो । ढुङ्गानाले युरोपमा बिजनेस गरेर बसिरहेको प्रहरीले जनाएको छ । फैसला कार्यान्वयनका लागि भोलि ललितपुर जिल्ला अदालतमा ढुङ्गानालाई बुझाउने उक्त ब्यूरोले जनाएको छ ।