१४ बैशाख २०८१, शुक्रबार

माओवादी नेता–कार्यकर्तालाई सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन प्रचण्डको आह्वान

prachanda maobadi perisdanda

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भएको छ ।

आज अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा बोल्दै उहाँले आफ्नो पार्टीसहितको बाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन अवको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भएको हो ।

सरकारलाई सफल बनाउनका लागि अवको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष दाहालले निर्देशन दिनु भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘यो चार महिनाको अवधिमा राजनीतिक रुपमा बाम–लोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरु सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्तिविरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढन अध्यक्ष कमरेडले निर्देशन दिनु भएको छ ।’

बैठकले भोलिबाट शुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको कार्यदिशामा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्ने गरी अध्यक्ष दाहाललाई राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्न पनि बैठकले अनुरोध गरेको छ ।

बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने नेताहरुको बारेमा भने छलफल नभएको माओवादी केन्द्रले जनाएको छ ।