१५ बैशाख २०८१, शनिबार

बैरागी हत्याको आरोपित १० वर्ष पछि पक्राउ

Aaropi 664x375 1

रौतहट जिल्लाका ख्याती प्राप्त अन्तराष्ट्रिय कुस्ती खिलाडी उपेन्द्र दास बैरागीको हत्यामा संलग्न थप एक जनालाई रौतहट प्रहरीले घटना भएको १० वर्ष पछि पक्राउ गरेको छ ।

घटनामा संलग्न भएको मध्ये फरार रहेका तीन जनामध्ये एक जनालाई रौतहट प्रहरीले गा वि स प्रेमपुर गोनाही ३ हाल देवाही गोनाही नगरपालिका ७ बस्ने जगदेव हजाराको छोरा सोन्फी पासवान भन्ने सोन्फी हजारालाई पक्राउ गरेको छ ।

देशको लागि योगदान पुर्याएका दक्षिण गोर्खाबाहूबाट सम्मानित खिलाडी बैरागीको गोली हानी हत्या गरि फरार रहेका आरोपितलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । बैरागी हत्या काण्डको निष्पक्ष छानविन हुनु पर्ने विगत केहि दिनदेखि जोडदार रुपमा आवाज उठी रहेको बेला प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले फरार रहेका आरोपितलाई नियन्त्रणमा लिएका हुन् ।

२०६८ साल अषाढ २३ गते राति करिव ८ बजेको समयमा गौर नगरपालिका वडा नम्बर ८ स्थित आफनो घरमा बसिरहेका कुस्ती खिलाडी बैरागीलाई बोलाएर सोहि ठाउँमा रहेको राम मन्दिर अगाडी गोली प्रहर गरि हत्या गरिएको थियो ।

बैरागीको हत्यामा तत्कालीन नेकपा माओवादी पार्टीका कार्यकर्ताको संलग्नता रहेको भन्दै पीडित परिवारले दिएको जाहेरीको आधारमा प्रहरीले प्रेमपुर गोनाही बस्ने जगरनाथ यादव र सर्फलाल महतोलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया बढाए पनि अन्य आरोपित फरार भएको थियो ।

राजनीतिक आडमा निष्पक्ष रुपमा तथ्यमा आधारित अनुसन्धान नभएको कारण पक्राउ परेका दुवै जना अदालतबाट रिहा भएको थियो । गौर नगरपालिका वडा नम्बर ५ स्थित सडकमा हिडडुल नगरिरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरियाले जानकारी दिए ।

मृतककी पत्नी राम कुमारी देवीले दिएको जाहेरी दरखास्तको आधारमा दायर भएको कर्तव्य ज्यान मुद्दाका अभियुक्त पासवान पक्राउ परेको प्रहरीले जनाएको छ । पीडित परिवारका अनुसार २ जना अझै फरार रहेको र उनीहरु गाउँमा बस्दै आएको बताएका छन् ।

माओवादी पार्टीका समर्थक रहेका दुवै जना गाउँमा निर्धक्क रुपमा घुमफिर गर्ने गरेकोले उनीहरुलाई पनि पक्राउ गर्नु पर्ने माग गरेका छन् । दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत नेपालमा भएको आठौ एशियाली खेलकुदमा बैरागीले नेपाललाइ काश्य पदक दिलाएका थिए ।

बैरागीको योगदानलाई कदर गर्दै क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ उपलव्ध गराउने सरकारले निर्णय गरेपनि पीडितले हाल सम्म उक्त रकम पाउन सकेको छैन ।

घटनापछि फरार रहेका अभियुक्त मध्ये पक्राउ परेका पासवानबाट थप रहस्य खुल्न सक्ने स्थानीयको विश्वास बढेको छ । पक्राउ परेका पासवानबाट गहन रुपमा छानविन गर्न पिडित परिवारले रौतहट प्रहरीबाट आग्रह गरेका हुन् ।