६ बैशाख २०८१, बिहीबार

नगरका विद्यालयहरूमा शिक्षाको गुणस्तर खस्केकोमा चिन्ता व्यक्त

rina shah 1
फाइल फोटो

रौतहटको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहले नगरको विद्यालयहरूमा शिक्षाको गुणस्तर खस्केकोमा चिन्ता व्यक्त गरेकी छन् ।

मौलापुर नगर क्षेत्रमा रहेका विद्यालयहरूको अनुगमन निरीक्षणको क्रममा अधारभूत विद्यालय मर्यादपुर, लक्ष्मिनिया मावि मौलापुर र श्रीजनता माध्यमिक विद्यालय सोनरनियाँमा पुगेकी नगर प्रमुख साहले विद्यार्थीहरूको कक्षाकोठाको अवलोकनपछि यस्तो चिन्ता व्यक्त गरेकी हुन् ।

कक्षा अवलोकनको क्रममा विद्यार्थीहरूको शिक्षण सीकाइ एकदमै कमजोर रहेको पाइएको उनले जानकारी दिए । कक्षा ५ ,६ र ७ का विद्यार्थीलाई शुद्ध नेपाली विषयको किताब पढ्न नआएपछि नगर प्रमुख साहले विद्यालयका शिक्षकहरूसँग यसको जवाफ मागेकी थिइन् ।

कामको परिणाम नदेखिएको भन्दै नगर प्रमुख साहले शिक्षकहरूलाई इमान्दारितापूर्वक नियमित रूपमा कक्षा सञ्चालन गर्न र विद्यार्थीहरूको शैक्षिक गुणस्तर बढाउन निर्देशनसमेत दिएकी थिइन् ।

‘आकर्षक र ठूला भवनले मात्र विद्यालय राम्रो बन्न सक्दैन,’ उनले भनिन्, ‘विद्यार्थीहरूको पढाइ राम्रो हुनुपर्‍यो ।’ विद्यार्थीको पढाइ राम्रो नभएसम्म शिक्षकले गरेको मिहिनेतको परिणाम नदेखिने उनको भनाइ छ । उनले विद्यार्थीहरूको पढाइको गुणस्तरमा ध्यान दिन शिक्षकहरूलाई निर्देशन दिइन् ।

मौलापुरका उपप्रमुख नागेन्द्रप्रसाद यादवले भवनको निर्माण कार्य सम्पन्न गराएर एक महिनाभित्र विद्यालय भवनको उद्धाटन गर्ने तयारी गरिएको जानकारी दिए ।

नवनिर्मित विद्यालय भवनमा पंखा, विजुली, शौचालयको कमी रहेकोले भवन निर्माण गर्ने ठेकेदारलाई यथाशीघ्र काम सम्पन्न गर्न निर्देशनसमेत दिइएको उनले जानकारी दिए ।

मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले भुइँतल्ला ढलानमा भएको त्रुटि सच्याउन ठेकेदारलाई निर्देशन दिइएको जानकारी दिए ।

 कमल कन्ट्रक्सनले एक करोड १३ लाखमा एक तल्ले भवन र साहु कन्ट्रक्सनले दुई करोड ५२ लाखको लागतमा दुई तल्ले विद्यालय भवनको निर्माण गरिरहेको उनले बताए ।