१५ चैत्र २०८०, बिहीबार

बलात्कारपछि जन्मेको शिशुको हत्या गरी फरार रहेका व्यक्ति तनहुँ प्रहरीद्वारा १८ वर्षपछि पक्राउ

Farar parau Prem B Sari

तनहुँ । बलात्कारपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा जिल्ला अदालतबाट सर्वाेश्वसहित कैद फैसला सुनाइएका आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडाका ५१ वर्षीय प्रेमबहादुर सार्कीलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ ।

घटना पछि फरार रहेका सार्कीलाई साउन २७ गते प्रहरीले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनाले बताउनुभयो ।

बलात्कारपछि गर्भमा रहेको शिशुको औषधी खुवाई गर्भपतन गर्ने प्रयास गरे पनि उक्त शिशु जीवित जन्मेपछि तत्कालै खरबारीमा लगेर शिशुको घाँटी अचेटी हत्या गरेको अभियोग तथा बलात्कार पीडित महिलाको बयान र स्थानीय भानुभक्त भट्टराईको जाहेरीपछि तनहुँ जिल्ला अदालतमा दर्ता भएको मुद्धामा जिल्ला अदालतले सार्कीलाई २०६० वैशाख ११ गते सर्वाेश्व सहित जन्मकैदको सजाय सुनाएको थियो ।

सो मुद्धालाई पुनरावेदन अदालत पोखराले २०६० कार्त्तिक १८ गते सदर गरेको थियो । घटना पछि फरार रहेका सार्कीलाई खोज तलास गरिए पनि फेला परेका थिएनन् ।

साउन २७ गते गिरफ्तार भएका सार्कीलाई सोही दिन जिल्ला अदालतमा उपस्थित गराई सजाय भुक्तानको लागि जिल्ला कारागार पठाइएको डिएसपी तिमिल्सेनाले बताउनुभयो । सो घटनामा संलग्न भएकी बलात्कार पीडित महिला टिकामाया थापा यसअघि नै सजाय भुक्तान गरी रिहा भएको डिएसपी तिमिल्सेनाले जानकारी दिनुभयो ।