१४ बैशाख २०८१, शुक्रबार

ठाकुर समुहलाई नयाँ दल गठन गर्न फलामको च्युरा !

Mahantha thakur rajendra mahato laxman lal karna and sarbendra nath sukla 750x375 1
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) को वैधानिकता बैधानिकता गुमाएको महन्थ ठाकुर समुहलाई नयाँ दल गठन गर्न फलामको च्युरा भएको छ ।

ठाकुरले तराईको १७ जिल्लामा गरेको अगुवा कार्यकर्ता भेलामा नयाँ दल गठनका लागि उत्साहजनक संकेत सहभागिहरुले दिएका छैनन् ।

ठाकुर निकटका नेताहरुले राजेन्द्र महतोलाई समान हैसियतमा नराख्न समेत ब्यापक दवाव दिएका छन् ।यद्यपी ठाकुर त्यस सम्बन्धमा निर्णयमा पुगेको छैन् । जसपा कार्यकारिणी समितिको अध्यक्षमा पहिलो नम्बरमा रहेका ठाकुरलाई उपेन्द्र यादवले सम्मान गरेका थिए ।

महतो भने राजेन्द्र श्रेष्ठ भन्दापनि पछाडी थिए । तर यादवबाट अलग्गिएपछि महतो ठाकुर सरहको हैसियतमा पुगेका छन् ।त्यसलाई ठाकुर पक्षधरहरुले रुचाएका छैनन् ।

ठाकुरको अत्यधिक विश्वसनिय सहयोगी मध्येका वृशेषचन्द्र लाल, डा.विजय कुमार सिंहले उनको कार्यक्रम नै बहिष्कार गरेका थिए ।अन्य जिल्लाहरुमा समेत सहभागि नभै उनीहरु बिभिन्न माध्यमबाट आक्रोश व्यक्त गरिरहेका छन् ।

पूर्व तमलोपाका नेताहरुले एकल अध्यक्ष रहनेगरि नयाँ दल खोल्न ठाकुरमाथि दवाव बनाइरहेका छन् । तर महतोलाई अलग्याएर ठाकुर अगाडी बढने हिम्मत जुटाउन सकिरहेका छैनन् ।

जिल्ला अगुवा कार्यकर्ता भेलामा महतो भन्दा ठाकुर समर्थकहरुको सहभागिता अत्यधिक रहेको थियो । अनिल झा र शरतसिंह भण्डारीलाई अगाडी राखिए ह्रदयेश त्रिपाठी लगायतका नेताहरु नजोडिने तर्फ ठाकुर सचेत देखिएका छन् । तर उनीहरुलाई छाड्न सक्ने अवस्थामा अझै उनी पुगिसकेका छैनन् ।

जसपाको आधिकारिकता पाउनु अगावै महतो निकटका वरिष्ठ नेताहरुले उनलाई छाडेर उपेन्द्र यादव समुहमा लागेका थिए । लक्ष्मण लाल कर्णपनि महतो भन्दा ठाकुरसित बढि नजिकिएका छन् ।

ठाकुर–महतो समुह भनिएपनि गुटमा महतो भन्दा शरतसिंह बलियो देखिएको छ । महतोलाई हटाएर नै पार्टी बनाउनु पर्ने दवावलाई थेग्न कठिन महसुस गरिरहेका ठाकुरले हाल जसपामै रहने मनस्थितिमा छन् ।

मन्त्रिपरिषदले पूर्णता पाएपछि यादव समुहमा रहेका करिब आधा दर्जन सांसद आफ्नो पक्षमा फर्किने आशामा ठाकुर छन् । तर त्यो अवस्था नै आउन नदिन यादवले पुरा तयारी गरेको बताइन्छ ।

उनले सर्वोच्च अदालतबाट मुद्दाको छिनोफानो भए मात्र सरकारमा जाने संकेत गरिसकेका छन् ।ठाकुरको वरियताका लागि चिन्तित देखिएका उनका सहयोगीहरुले भने आफ्नो स्थान असुरक्षित भएको महसुस गर्न थालेका छन् ।