१५ चैत्र २०८०, बिहीबार

कांग्रेसद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

gandaki

गण्डकी प्रदेशसभा सचिवालयसम्बन्धी विधेयकलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । सरकारले आफुसँग गरेका बाचा पूरा नगरेको भन्दै कांग्रेसले गण्डकी प्रदेशसभामा अवरोध गरेको हो । बुधबार बसेको बैठक कांग्रेसको अवरोधले स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयसम्बन्धि विधेयक र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा कांग्रेसको असहमति छ ।

प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा कतिपय बुँदाप्रति असहमति जनाउँदै विधायन समितिबाट गत १३ फागुनमा बहुमत आधारमा पास भएको थियो ।

उक्त प्रस्तावसँगै सरकारका गतिविधिको विरोध गर्दै काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले विधेयक संशोधन नभएसम्म संसद् चल्न नदिने बताए ।

लामो समयदेखि निमित्त सचिवका भरमा चलिरहेको प्रदेशसभामा राजनीतिक रुपमा सचिव नियुक्ति गर्ने र सचिवालयको व्यवस्थापन गर्ने नीतिसहित २० महिनापछि विधेयक अगाडि बढेको छ । सभामुख अध्यक्ष, उपसभामुखपछि प्रदेशसभामा प्रदेशसभा सचिवालयका सचिव सदस्य रहने विधेयकमा उल्लेख छ ।

विधेयकअनुसार सचिवले एक जना सदस्य सचिव तोक्ने छन् । विधेयकको परिच्छेद ३ को दफा ५ मा उल्लेखित यही विषयप्रति असहमति जनाउँदै सबै दलका प्रमुख सचेतक, सचेतक वा दलले तोकेको प्रतिनिधि सदस्य रहने व्यवस्था गर्न ०७५ साउनमै कांग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको थियो ।

अहिले नेकपाले एकलौटी गर्ने गरी बहुमतको बलमा विधेयकअगाडि बढाएको भन्दै कांग्रेसले बुधबारको संसद अवरुद्ध गरेको हो ।