१२ बैशाख २०८१, बुधबार

आफूलाई तह लगाउने नाममा अख्तियार लगाइयो : गच्छदार

vijay

सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दाबी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैँले गर्नुपर्ने बताएका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहास नै समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धानले आफूमाथि दुश्मनी साँध्ने काम गर्नु अन्ततः संविधानमा त्रुटी हुनु रहेको बताएका हुन्।

त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैँले गर्नुपर्ने उनको तर्क छ।

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आक्रोश व्यक्त गरे ।

उपसभापति गच्छदारले भने, ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँड्छ ? मोहीको जग्गा छुटाउने दायित्व मेरो थियो ? त्यो दायित्व भूमिसम्बन्धी मन्त्रालयको होइन र ? तर राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो।’

उनले उक्त विषयमा आफूलाई थाहा नभएको पनि दाबी गरे।

“तर मलाई तह लगाउने नाममा अख्तियार लगाइयो । मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो,” गच्छदारले भने, “यी सबै काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटी सच्याउने काम नेपाली कांग्रेसले गर्नुपर्छ। आदिवासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनुपर्छ।”

उपसभापति गच्छदारले आफूले वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कुरा पटकपटक दोहोर्याए।