११ बैशाख २०८१, मंगलवार

जन्मँदै आन्द्रा र कलेजो बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल

bp koirala pratisthan

जन्मँदै आन्द्रा र कलेजो पेटबाहिर निस्किएको एक शिशुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शल्यक्रिया सफल भएको छ । भोजपुरको दावा प्राथमिक स्वास्थ्य केन्दमा जन्मिएका सिद्धेश्वर गाउँपालिका–४ मान्द्रेका सन्ध्या विकको शिशुलाई गत असार २१ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

शिशुलाई एक महिनासम्म एनआईसीयूमा राखेर प्रतिष्ठानका डा राजेश साहको टोलीले शल्यक्रिया गरी बाहिर निस्किएको आन्द्रा र कलेजो मिलाएको थियो । बाह्र हजार शिशुमध्ये एक जनामा यस्तो समस्या आउने डा साहले बताउनुभयो । “विभिन्न कारणले जन्मनुभन्दा अगाडि पेट राम्ररी नबनेको बच्चा जन्मँदा यस्तो समस्या आउने गर्छ । यसलाई ग्यास्ट्रोजचेसिज भनिन्छ”, उहाँले भन्नुभयो ।

शिशुको नाइटोबाट पूरै आन्द्रा बाहिर निस्किएकामा १५ दिनसम्म प्लाष्टिकको ब्यागमा हालेर एनआईसीयूमा राखी शल्यक्रिया गरिएको थियो । जन्मँदा नानीको स्वरूप नै बिग्रिएको थियो शल्यक्रियापछि राम्रो भएको शिशुका बुबा नवराज परियारले बताउनुभयो । शल्यक्रियापछि घाउ पाकेकाले आज चिकित्सकको सल्लाहअनुसार ‘फलो अप’मा राखिएको छ ।

पाँच वर्षअघि डा राजेश यस प्रतिष्ठान आएपछि यस्ता जटिल प्रकृतिका बच्चाको उपचार सहज र सुलभमा हुँदै आएको छ । यसअघि भारत तथा काठमाडौँका महँगो अस्पतालमा यस्ता बिरामीको उपचार गराउँदा लाखौँ रकम खर्च हुने गथ्र्योे तर प्रतिष्ठानले भने शल्यक्रिया शुल्क १३ हजार मात्र लिँदै आएको छ । औषधि तथा अन्य सबै गरेर रु ५० हजारमा उपचार हुँदै आएको छ ।