१३ बैशाख २०८१, बिहीबार

सातौँ जितको खोजीमा गच्छदार

gachye

नेपाली राजनीतिका चतुर खेलाडी हुन विजय कुमार गच्छदार । लगातार छैठौं पटक चुनाव जितेर अपराजित यात्रा गरेका गच्छदार १३ पटक मन्त्री भए ।  

शक्ति र सत्ताको निरन्तर भोग गरेका गच्छदार ललिता निवास जग्गा प्रकरणपछि ओझेलमा परे । पार्टीभित्र पनि निरन्तर कमजोर बनेका गच्छदार यस पटक सातौँ जितका लागि चुनावी मैदानमा छन् । तर १५ वर्षदेखि निरन्तर प्रतिस्पर्धी बनेकी नेकपा एमालेकी भगवती चौधरी यस पटक जसरी पनि गच्छदारलाई पराजित गर्न चुनावी मैदानमा होमिएकी छिन् ।

नेपाली काँग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार यस क्षेत्रबाट सातौँ पटक सांसद बन्न चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने नेकपा एमालेकी नेतृ भगवती चौधरी गच्छदारसँग लगातार तेस्रो पटक चुनाबी प्रतिस्पर्धामा होमिएकी छन् ।

ललिता निवास जग्गा प्रकरणमा मुद्दा खेपीरहेका गच्छदार र गत निर्वाचनमा झिनो मतान्तरको पराजय भोगेकी चौधरी दुबैमा चुनाव जित्ने आत्मविश्वास डग मगाएको छैन ।

कुल १ लाख २५ हजार ४ सय ३२ जना मतदाता रहेको सुनसरी ३ मा आधाभन्दा बढी मत थारू समुदायको छ । गच्छदार र चौधरी दुवैको दाउ जातीय मत कसरी आˆनो तर्फ तान्ने भन्नेमा नै बढी केन्द्रित रहँदा यस क्षेत्रमा केही स्वतन्त्र र साना दलको समेत प्रभाव रहेको छ ।

सुनसरीको १२ स्थानीय तहमध्ये गढी र बर्जु गाउँपालिका तथा दुहबी नगरपालिकाका सबै वडा समेटिएको सुनसरी ३ मा इटहरी उपमहानगरका र इनरुवा नगरपालिकाका केही वडा समेटिएका छन् । तरकारी र अन्न भण्डारको पकेट क्षेत्र मानिएको यस क्षेत्रमा मतदाताले कस्तो उम्मेदवार रोज्छन् चासोको विषय बनेको छ ।