१५ बैशाख २०८१, शनिबार

झापामा बाढीले १८ सीमा स्तम्भमा क्षति, ३५ उच्च जोखिममा

boder pillor

सोमवार साँझ मेची नदीले ११२ नम्बरको मुख्य जङ्गे पिल्लर बगाएसँगै झापामा १८ वटा सिमा पिल्लरमा क्षति पुगेको छ । गत वर्ष मझौला र साना गरी १७ वटा र यस वर्ष एउटा मुख्य पिलरमा नदी कटानबाट क्षति पुगेको सशस्त्र प्रहरीका एसपी रमेशकुमार पाण्डेले बताउँनुभयो ।
झापामा १४४ किलोमिटर खुला सीमाक्षेत्रमा ८२ देखि १५२ नम्बरसम्मको सीमा पिलर छन् ।

अधिकांश सीमा पिलर मेची र बिरिङ नदी आसपासमा छन् । गत वर्ष मात्रै भद्रपुर, कचनकवल, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका क्षेत्रका सीमा पिलरमा क्षति पुगेको थियो ।
झापामा मुख्य ७० सहित मझौला र साना गरी कुल ९८८ वटा सीमा पिल्लर छन् । त्यीमध्ये १५० वटा पिलर नदीको आसपासमा छन ।

खोलामा रहेका मध्ये अझै पनि ३५ वटा पिलर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । खोला नदी आसपासमा रहेका सबै सीमास्तम्भहरु समेत जोखिममा रहेको प्रहरीको भनाइ छ । कोरोना कहरकै कारण यसवर्ष पनि नदी डुबानमा परेका सीमास्तम्भहरुको अवस्थाको बारेमा यसबर्ष अनुगमन हुन नपाएको प्रहरीको भनाइ छ ।

बर्खा सकिएपछि मात्र ती पिलरहरूको अवस्था बुझ्न सकिने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो । सीमाको पिलर हेर्ने जिम्मा सरकारले नापी विभागका उपसचिव शिव लम्साललाई दिएको बताइएको छ । ‘अघिल्लो वर्ष क्षति भएका पिलरको विवरण प्रशासन कार्यालयले पठाइसकेको प्रजिअ तिम्सिनाले बताउँनुभयो ।

यस वर्षको भने बर्खा सकिएपछि पठाउने तयारी रहेको तिम्सिनाले बताउँनुभयो । त्यसपछि दुवै देशका नापी टोली आएर सीमा पिलरको स्थलगत निरीक्षण गरिने समेत तिम्सिनाको भनाइ छ ।

दुवै देशका सीमा विज्ञ बसेर जिल्लामा कति वटा पिलर बनाउने हो, कति वटा मर्मत सम्भार गर्ने हो, त्यसको तथ्याङ्क सङ्कलन गरिने र सोही अनुसार सीमा मर्मत सम्भार गरिने तिम्सिनाले बताउँनुभयो । कोराना कहरका कारण सीमा पिल्लरको काममा ढिलाइ भए पनि आगामी कात्तिकदेखि पिलरको मर्मत सम्भारको काम शुरु भइसक्ने प्रजिअको भनाइ छ ।

यसै क्रममा नेपाल भारत सीमाको झापा कचनकवल ५ पाठामारीको ११२ नम्बर जङ्गे पिलर मेची नदीले सोमवार साढे ६ बजे बगाएको थियो । सीमा क्षेत्रमा रहेका गाउँबस्ती र सीमा पिल्लरको सुरक्षाका लागि सरकारले नदी तटबन्धमा ध्यान दिनुपर्ने स्थानीयको माग छ ।