१३ बैशाख २०८१, बिहीबार

कमल थापाले भागवत गीता देखाएर ‘कसम’ खाँदै भने अब कहिल्यै फुट्दैनौं

kamal thapa

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब पार्टी नफुटाउने ‘कसम’ खाएका छन्। राप्रपाका दुई घटकबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै थापाले यस्तो प्रतिवद्धता जनाएका हुन्।

राप्रपा (संयुक्त) र राप्रपाबीचको एकतासभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । थापाले अब कहिल्यै पनि नफ्टेनगरी एकता भएको बताएका छन् । राष्ट्रिय सभा गृहमा जारी एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“अब कहिल्यै नफुट्नेगरी एकता भएका छौं,” थापाले भने, “यो एकताबाट म खुसी छु ।” उनले यसअघि ६ महिना नपुग्दै पार्टी कसले फुटायो भन्ने विषयमा अहिले चर्चा नगर्ने पनि बताए ।

‘नेताले मात्र होइन, पार्टी फुटाउँदिन भनेर सबै कार्यकर्ताले प्रतिवद्धता जनाउनुपर्छ’, घोषणासभालाई सम्बोधनका क्रममा भागवत गीतको पुस्तक खल्तीबाट निकाल्दै थापाले भने, ‘म पनि अब कहिल्यै पार्टी फुटाउँदिन। यो गीताको पुस्तक साक्षी छ ।’ 

kamal 1

थापाले अब कहिल्यै पार्टी नफुटाउने प्रतिवद्धता जनाउँदा हलमा गडगडाहट ताली बजेको थियो। उनले एकतापछि राप्रपा अब प्रजातान्त्रिक शक्ति र वैकल्पिक पार्टी भएको बताए ।

दुई पार्टीबीच एकताका लागि शनिबार राति अबेर सहमति जुटेको थियो। समान हैसियतमा तीन अध्यक्ष रहने गरी एकताको समहति भएको हो ।

कमल थापा, पशुपति शम्शेर जबरा र डा प्रकाश चन्द्र लोहनी तीनै जना अध्यक्ष रहनेगरी एकता भएको हो। पार्टीको निर्णय तथा जिम्मेवारी बाँडफाड गर्दा तीनै अध्यक्षको सहमतिमा हुने र बैठकको अध्यक्षता पालैपालो गर्ने समहति भएको छ।

पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहने र चुनाव चिन्हबारे छलफलपछि निर्णय लिने जनाइएको छ। एकताको आधार पत्र भनी १० बुँदे सहमति पत्र जारी गरिएको थियो।

एकिकरण सम्बन्धि आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपाबाट दिपक बोहरा, बुद्धिमान तामाङ र भाष्कर भद्रा र राप्रपा (संयुक्त) बाट बिक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना रहेको कार्यदल गठन गरिएको राप्रपाले जनाएको छ।

राजसंस्थाको छायामा २०४७ जेठ १५ मा दुईवटा राप्रपा स्थापना भएका थिए। स्थापनाको एक वर्षमै दुवै पार्टीबीच एकता भयो। तर, समय क्रमसँगै यो पार्टी पुनः विभाजन भयो।