१६ बैशाख २०८१, आईतवार

दार्चुला घटना प्रकरण : एसएसबीविरुद्ध नबोल्न प्रत्यक्षदर्शीलाई धम्की

darchula

एसएसबीले तुईन फुकालेको बयान नदिन प्रतक्षदर्शीहरुलाई धम्की आइरहेको जनाएको छ । २१ वर्षदेखि महाकालीमा तुईन सञ्चालन गर्दै आएका प्रतक्षदर्शी कल्यानसिंह धामीका अनुसार केहि दिन यता आफुहरुलाई धम्की आईरहेको बताए ।

‘घटना भएको दिनदेखि फोन आएर झन धेरै तनाव भएको छ ।’ धामीले भने, ‘जयसिंह बेपत्ता हुनुमा एसएसबीको दोष छ, यो कुरा म सुरुदेखि नै भनिरहेको छु । छानबिन समितिको बयानमा पनि त्यही भनेको छु । हामी तीनैजना प्रत्यक्षदर्शीको लगभग एउटै बयान छ ।’ तुइनको डोरी फुकाउने एसएसबीका आफन्तहरूले फोन गरेर धम्की दिइरहेको उनको भनाई छ ।

‘फोन गरेर अब भारतीय बाटो कहिल्यै नहिँड्ने हो ? कि हिँड्ने हो ? भनेर उनीहरू पारिबाट फोन गरिरहेका छन् ।’ उनले भने, एसएसबीलाई बचाउन निरन्तर फोनमार्फत धम्की आउन थालेपछि अहिले मोबाइल नै बन्द गर्ने गरेको छुँ।’आफ्नै आँखा अगाडि देखेको कुरालाई परिवर्तन नगर्ने धामीको भनाई छ।

‘उनीहरूले एसएसबीलाई बचाइदिनुप¥यो, त्यो दिन हामीले उनीहरूलाई गस्ती आएको देखेकै छैन भनेर बयान देऊ भन्छन, तर, उनीहरूले धम्की दियो भन्दैमा म सत्य कुरा कसरी लुकाउ’, धामीले भने, ‘बरु भारतको बाटो नहिँडौँला, नेपालबाटै हिँडौँला । मर्नुपरे पनि बाँच्नुपरे पनि आफ्नो भूमि छँदै छ ।’

साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा स्थानीय ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् । उनि अझै वेपता रहेकोले उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।