१६ बैशाख २०८१, आईतवार

लचक छन् ओली–नेपाल, तर विवाद ज्युँकात्युँ

kp oli madhav nepal

‘पार्टी एकताका लागि अनन्तकालसम्म पर्खन सकिँदैन,’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा भन्दै आइरहेका छन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहका नेताहरुलाई पार्टीमा नआए नपर्खने मुडमा पुगेका ओलीले त्यसमा ‘ब्रेक’ लगाएका छन् । आइतबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक धकेलिएको छ । बैठक सोमबार दिउँसो ३ बजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

त्यसअघि बिहान ११ बजे स्थायी कमिटी बैठक पनि बोलाइएको छ । खनाल–नेपाल समूहका नेता तथा कार्यदलका संयोजक भीम रावलको आग्रहमा बैठक सारिएको स्रोतले जानकारी दिए । रावलले शनिबार ओलीलाई भेटेर बैठक रोक्न आग्रह गरेका थिए । त्यस्तै रावलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शनिबार नै छलफल गरेको स्रोत बताउँछ । नेताहरुका अनुसार ओली एकताको प्रयासका लागि पनि बैठक स्थगित गर्न राजी भएका हुन् । केन्द्रीय सदस्य खिमलाल भट्टराई भने तयारी पर्याप्त नभएका कारण पनि बैठक सारिएको बताए ।

एकताका लागि भने आन्तरिक छलफल भइरहेको उनको भनाइ छ । “तयारी नपुगेरै बैठक सारिएको हो । एकताका लागि उहाँहरु खनाल–नेपाल समूहका नेताहरु सँग कुराकानी छँदैछ । विभिन्न नेताहरुबीच कुराकानी चलिरहेकै छ । तर, अझै टुंगिएको छैन,” भट्टराईले भने ।

एकताको विषय नटुंगिए पनि सोमबार बैठक बस्ने भट्टराई बताउँछन् । केन्द्रीय कार्यालयले नेताहरुलाई प्रेषित गरेको सूचनाअनुसार विधान संशोधनका लागि गठित कार्यदलले विधान संशोधनमाथिको छलफल गरिरहेको र त्यसले अझै पूर्णता नपाएको उल्लेख छ । विधान संशोधनमाथिको छलफललाई मूर्तरुप दिएर सोमबारको स्थायी कमिटी बैठकमा एक मत बनेपछि केन्द्रीय कमिटीमा लैजाने तयारी रहेको स्रोतले जानकारी दियो ।

त्यस्तै पार्टी एकताका लागि आन्तरिक छलफल चलिरहेकाले पनि बैठक स्थगित हुनुको दोस्रो कारण हो । “विवादका विषयहरु न्यारोडाउन हुँदै गएका छन् । पहिले जस्तो एकठाउँमा बस्नै सकिँदैन, हुँदै हुँदैन भन्ने ठाउँबाट विवादका विषय साँघुरिएको छ । त्यसलाई अन्तिम रुप दिन सकिन्छ कि भनेर बैठक स्थगित गरिएको हो,” एक नेता बताउँछन् । ओलीले पार्टी एकतामा कोही नआए छुट्दै जाने बताउँदै आएका थिए । ओली उक्त अडानबाट लचिलो भएर पर्खने मुडमा पुगेको उनी निकटस्थ नेता बताउँछन् ।

“प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षलाई कारबाही गर्न असार ४ गते केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । बैठकले स्पष्टीकरण सोधे पनि कारबाही गरेन,” ती नेता भन्छन्,“बरु अध्यक्षले एम्नेष्टी इज ग्रान्टेड भन्नुभयो । त्यसैले लचिलो हुनुभएकै हो ।” शुक्रबार सम्पन्न खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पनि पार्टी एकतमा नै जोड दिने निर्णय गरेको छ ।
बैठकले आइतबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक रोक्न र पार्टी सदस्यता वितरण लगायतका काम रोक्न आग्रह गरेको थियो । अलग पार्टी बनाउने, सरकारमा सहभागी हुने बताउँदै आएको नेता नेपाल समूह पनि तत्कालका लागि त्यसबाट ब्याक भएको नेताहरु बताउँछन् । हाल ओली र नेपाल दुवै नरम हुँदै गइरहेको ती नेताको बुझाई छ ।

“दुवैथरी नरम भएको देखिन्छ । दुवैले पहिलेजस्तै मेरै गोरुको बाह्रै टक्का भनेको भए अन्य नेताहरुबीच वार्ता हुने नै थिएन । पार्टी एक नरहन पनि सक्थ्यो । फ्लोर क्रस गरेको समूहलाई कारबाही भइसक्थ्यो,” उनी भन्छन्,“ हाल दुवै समूह एकताकै पक्षमा छ । पार्टी कुन शर्तमा एकता गर्ने भन्ने मात्रै हो । एक अर्कालाई पर्खिएको देखिन्छ ।” केन्द्रीय सदस्य विष्णु रिजाल पनि पनि दुवै समूहमा एकताको पक्ष हावी भएको दाबी गर्छन् ।

“एकताकै पक्ष हावी छ । दुवैथरीबाट एकताकै कोसिस भइरहेको छ,” रिजालले भने । एमालेका अर्का एक नेता भने पार्टी फुटिहाले पनि त्यसको भारबाट पन्छिनका लागि दुवै पक्ष एकताको प्रयास गरिरहेको विश्लेषण गर्छन् । “कथमकदाचिद् पार्टी फुटिहाले पनि पार्टी फुटको भार बोक्न नपरोस् भन्ने चाहेको देखिन्छ । त्यसैले दुवै पक्षको जोड एकता नै छ,” उनले भने ।